काठमाडौं, २३ जेठ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले आगामी वार्षिक बजेटमा विकास निर्माणतर्फ न्यून बजेट विनियोजन हुने बताउनुभएको छ ।
नेपाल बार एसोसिएसन ललितपुरको आयोजनामा शुक्रबार यहाँ गरिएको “भूकम्प : चुनौती र अवसर” विषयक अन्तक्रियामा बोल्दै उहाँले आगामी बजेटमा भूकम्पपीडितका लागि राहत र पुनःनिर्माण कार्यमा बढी रकम छुट्याउनुपर्ने भएकाले विकास निर्माणमा कम बजेट विनियोजन हुने उल्लेख गर्नुभयो ।
उहाँले भूकम्पले पु¥याएको क्षति विवरण सङ्कलनमा स्वदेशी तथा विदेशी गरी करिब ३०० विज्ञको टोली परिचालन रहेको बताउँदै त्यसबाट पुनःनिर्माणका लागि आवश्यक बजेटको प्रारम्भिक खाका आउने बताउनुभयो ।
भूकम्पका कारण बजारीकरण, कृषि तथा सामाजिक क्षेत्रमा ठूलो असर परेको प्रसङ्ग उल्लेख गर्दै उपाध्यक्ष पोखरेलले भूकम्पमा परेर अधिकांश महिला, अपाङ्गता व्यक्ति तथा ज्येष्ठ नागरिकले ज्यान गुमाउनु परेको बताउनुभयो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले वैशाख १२ गतेको भूकम्पपश्चात दैनिक चार रिक्टलभन्दा माथिका करिब ३०० को सङ्ख्यामा स–साना पराकम्पन गइरहेको बताउनुभयो । भारतीय भू–भागमा रहेको प्लेट उत्तरी धु्रव अर्थात् तिब्बततिर सर्ने क्रममा ठूलो भूकम्प आएको उहाँको भनाइ थियो ।
वैशाख १२ यता मात्र ६ रिक्टलभन्दा माथि चारवटा र साना ठूला गरी करिब २० हजार पराकम्पन गइसकेको बताउनुभयो ।
वरिष्ठ इन्जिनियर ईश्वर जोशीले पुनःनिर्माणको कार्य थालनी गर्नुपूर्व भूकम्प प्रतिरोधात्मक घरको नमुना विकास गरी सुरक्षित स्थायी घर निर्माण हुनुपर्नेमा जोड दिनुभयो ।
ललितपुर बारका अध्यक्ष प्रकाश महर्जनले विपद् व्यवस्थापनसम्बन्धी दक्ष जनशक्तिको अभावमा ठूलो जनधनको क्षति हुन पुगेको बताउनुभयो । रासस















प्रतिक्रिया