
काठमाडौं, २४ कात्तिक । एउटै परिवारका चार जनाको हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा छायाँनाथ रारा नगरपालिका-७ पिना घर भई हाल बाँके बैजनाथ गाउँपालिका-१ चिसापानी बस्ने ३१ वर्षीय काले भन्ने गोर्ख राज शाही र छायाँनाथ रारा नगरपालिका-६ मन्दु बस्ने ३१ वर्षीय गोपाल बहादुर बोहोरा रहेका छन् ।
उनीहरूले कात्तिक ८ गते छायाँनाथ रारा नगरपालिका-६ मन्दु बस्ने श्रीदेवी बोहोरा, उनकै छोराहरू ११ वर्षीय मनोज बोहोरा, ५ महिनाको रहर बोहोरा र उनकै छोरी ७ वर्षीया अप्सरा बोहोरा हत्या गरेका थिए ।
केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौं, कर्णाली प्रदेश प्रहरी कार्यालय वीरेन्द्रनगर सुर्खेत र जिल्ला प्रहरी कार्यालय मुगुबाट संयुक्त टोलीले गोर्ख राज शाहीलाई लुकीछिपी बसेको अवस्थामा सोमबार दिउँसो सुर्खेत वीरेन्द्रनगर नगरपालिका-५ पञ्चकोशी टोल र गोपाल बोहरालाई शुक्रबार उनकै घरबाट पक्राउ गरेको हो ।
गोपाल बोहोरा बैदेशिक रोजगारीको लागि कतार गएकोमा राम्रो काम नपाई २ वर्ष बसेर नेपाल फर्किएको र श्रीदेवी बोहोराको श्रीमान दीपक बोहोराले कतारमा राम्रो कम्पनीमा काम गरेको उक्त कम्पनीमा काम गर्ने गरी आफूलाई समेत भिषा पठाइदिन आग्रह गरेको तर दीपकले सो कुरा अस्वीकार गरेकोले रिसइवीका कारण दीपकको परिवारको हत्या गर्ने योजना बनाएको खुल्न आएको छ ।
गोपालले गोर्ख शाहीलाई भेटी श्रीदेवी बोहोरासँग भएको सुन तथा नगद लुटपाट गर्ने सल्लाह गरी श्रीदेवी आफ्नो छोराछोरीसहित माइतीघरबाट फर्केर घरमा आएर खाना खाई बसेकोमा गोपाल र गोर्खले घरबाहिरबाट ढोका खोल्न लगाई घरभित्र प्रवेश गरी धारिलो हतियार खुकुरीले टाउको र घाँटीमा प्रहारी गरी उनीहरूको हत्या गरेका थिए ।
उनीहरूले हत्यापछि श्रीदेवीले कानमा लगाएको २।५ तोलाको सुनको रिङ, २५ लालको सुनको तिलहरी र मोबाइल १ थान लुटेर भागेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया