
बाँके, २२ कात्तिक । “मलाई बहिनीले दिदी बचाउनूस् भनिरहिन् । म आफैँ भूकम्पमा पुरिएकी थिएँ । मेरो सास रोकिएको थियो । म बोल्नै र हलचल गर्न सकिरहेकी थिइनँ । मैले टुलुटुलु हेर्नुबाहेक केही गर्न सकिनँ । मैले उनलाई बचाउन सकिनँ । मैले बहिनीलाई मेरै कारणले गुमाएँ” भन्दै चित्कारिएको आवाजले मङ्गलबार नेपालगञ्जस्थित भेरी अस्पतालको वार्ड स्तब्ध थियो ।
आफ्नो साथीजस्तै बहिनी गुमाएको पीडामा होस फर्किएदेखि छट्पटाउने गर्छिन् जाजरकोट भेरी नगरपालिका–१ की जुनी विष्ट । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा जुनीले बहिनी मात्रै गुमाउनुु भएन, आफैँ पनि घाइते बनेकी छिन् । जुनीको देब्रे हातको नशामा बढी चोट लागेकाले देब्रे हात चल्दैन । खुट्टा उपचार भएको चौथो दिनदेखि बिस्तारै चल्न थालेको छ तर हिँड्डुल गर्न सक्दिनन्। उनलाई अहिले शय्याबाट झर्न र चढ्न सहारा दिनुपर्छ । सुतेकै अवस्थामा पनि शय्यामा फर्कनसमेत नसक्ने जुनीलाई बहिनीको शोकले झन् थलाउँदै लगेको छ ।
भूकम्पमा परेर अर्को जीवन पाउनुभएकी १७ वर्षीया जुनी बहिनीलाई बचाउन नसकेकामा आत्मग्लानी भइरहेको छ । शनिबारदेखि भेरी अस्पतालमा उपचाररत जुनीले ‘बहिनी बचाउन सकिनँ’ भन्दै डाँको छाडेर रोइरहन्छिन् । अस्पतालका मनोसामाजिक परामर्शकर्ता कमला डाँगीका अनुसार जुनी उहाँको रेखदेखमा आएका आफन्तसँग पनि बोल्दिनन् । “दिनभरि कि सलले मुख छोपेर सुत्नुहुन्छ कि त बहिनी बचाउन नसकेको गुनासो आफैँसँग गर्दै भक्कानिएर रून्छिन्”, उनले भनिन्, “जुनीलाई शारीरिक चोटभन्दा बढी बहिनीलाई आँखै अगाडि गुमाउनु पर्दाको मानसिक चोट धेरै छ ।” जुनीलाई भूकम्प केवल आफ्नो घरमा मात्र आएको र भूकम्पमा बहिनी मात्रै पुरिएको भन्ने लागिरहेको मनोसामाजिक परामर्शकर्ता डाँगीले बताए ।
अस्पतालमा भर्ना भएदेखि आजसम्म तीन चरणमा जुनीसँग कुरा गरिसकेको जनाउँदै उहाँले पहिलो र दोस्रो चरणमा उनी बोल्दै नबोलेको र तेस्रो चरण सामान्य चिनाजानमा मात्रै केन्द्रित रहेको बताए । डाँगीले भने, “कुराकानी गर्न लागेको आज तेस्रो दिनमा मात्रै उहाँले मसँग मनमा गुम्सिएका पीडालाई भक्कानिँदै खोल्नुभयो । उहाँलाई आफूलाई लागेको चोटभन्दा पनि धेरै माया गरेर सँगै हुर्किएकी बहिनीलाई गुमाएकामा लागेको रहेछ ।” भूकम्प जानुअघि शुक्रबार रातिसँगै खाना खाएर दुई बहिनी एउटै ओछ्यानमा भुइँतलामा सुतेका कुराकानीका क्रममा जुनीले बताएकी डाँगीले उल्लेख गरे ।
सुत्ने बेला शनिबार गाउँमा लागेको मेला हेर्न जाने र मेलामा जाँदा दिदीको नयाँ कुर्तासुरुवाल बहिनीको लगाउने सल्लाह भएकामा बहिनीको त्यो चाहना अधुरै रहेको भन्दै जुनी अस्पतालको शय्यामा भक्कानिने गरेको उनले बताए । “जुनी नबोल्दा कसैसँग पनि बोल्नुहुन्न । उहाँलाई जति नै बोलाए पनि केही जवाफ दिनुहुन्न । तर आफ्नै सुुरमा एकोहोरो बहिनीलाई सम्झिएर डाँको छोडेर रुनुहुन्छ”, मनोसामाजिक परामर्शकर्ता डाँगीले भन्नुभयो, “उहाँको शरीरमा लागेको चोट औषधीले बिस्तारै निको हुँदै जान्छ । तर उहाँमा मनोसामाजिक समस्या बढी देखिएकाले यो समस्याबाट बाहिर निकाल्न अति नै संवेदनशील भएर कुरा गर्नुपर्ने हुन्छ ।”















प्रतिक्रिया