
काठमाडौं, २१ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज प्रधानमन्त्रीको आह्वानमा बसेको शान्ति प्रक्रियामा हस्ताक्षर गर्ने दलका शीर्ष नेताहरूको बैठकप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले पछिल्लो समय अराजक र अस्थिरताको प्रवृत्ति देखा परेको भन्दै शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दलहरूबीच आपसी मतभेद भएपनि एकताबद्ध हुँदै लोकतन्त्रको सुदृढीकरण गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यसैप्रति कटाक्ष गर्दै लामिछानेले आज बैठक गर्ने सबै पार्टी मिलेर भूकम्प पीडितका घरमा पाल र ब्लान्केट पुर्याएर चिसोमा जनता जोगाए ब्यवस्था आफैँ जोगिने बताएका हुन् ।
परिवर्तनका लागि तातो गोली खान पछि नहटेका जाजरकोट, रुकुम, बझाङका जनतालाई चिसोमा आकाश मुनि सुत्न बाध्य पारेर परिवर्तन जोगाउने बैठकको दृश्यले आफ्नो आँखा बिझाएको उनले लेखेका छन् ।
यस्तो छ, स्टाटस्-
आदरणीय ‘सर्वदलीय हेड सरू’ हरु यता सुन्नुस् है,
आज बैठक गर्ने सबै पार्टी मिलेर भुकम्प पीडितका घरमा पाल र ब्लान्केट पुर्याउनुहोस् र यो चिसोमा जनता जोगाउनुस्। ब्यवस्था आफै जोगिन्छ, परिवर्तन आफै जोगिन्छ।।सुत्केरीहरुको जिउ सुन्निएको छ, अस्थाइ शौचालय छैन, पुरिएका चौपायाका कारण महामारी फैलने डर छ। जुटाइदिएको पाल,चामल,दाल समयमै बाड्न नसक्ने अनि चिन्ता ब्यवस्थाको, परिवर्तन कोरु तपाईंहरुले सक्नु हुन्न भने भन्नुस्, रास्वपाले सक्छ र रास्वपा तयार छ त्यो पनि पुनर्निर्माण सम्मको जिम्मा लिन तयार छ। फेरि पनि भन्छु,ब्यवस्थामा खतरा छैन,भए पनि जोगाउने जनता छन्। तिनको जीवन रक्षा गरिदिनुस् । परिवर्तनका लागि तातो गोली खान पछि नहटेका जाजरकोट, रुकुम, बझाङका जनतालाई यो चिसोमा आकाश मुनि सुत्न बाध्य पारेर परिवर्तन जोगाउने बैठकको दृश्यले मेरा आँखा नराम्ररी बिझाए।
नोट: उद्दार कार्य उत्कृष्ट थियो तर राहत बितरण कत्तिपनि सहि भएन।















प्रतिक्रिया