८ कार्तिक २०८३, आइतबार

दिनभरका TOP 15 NEWS: जाजरकोटमा फेरि भूकम्प, भाइटीकाको शुभ साइत बिहान १०:५१ बजे

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० कात्तिक । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर फेरि अर्को भूकम्प गएको छ ।

सोमबार अपरान्ह ४ बजेर ३४ मिनेटमा जाजरकोटको रामीडाँडा नै केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

यसअघि गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा नै केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो । आजको धक्का सोही भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

१. छोडेन भूकम्पले : जाजरकोटमा आज पुन: ५.९ म्याग्निच्युडको भूकम्पको धक्का, भूकम्पले भेरी कोरिडोर सडक अवरुद्ध हुनुका साथै घरबाट हामफाल्दा एकजना महिला घाइते ।

२. दुर्गम र गरिब प्राथमिकतामा : दुर्गम र गरिब भूकम्प पीडितलाई पहिलो प्राथमितामा राख्न निर्देशन दिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाइ, भूकम्प पीडितको राहत र उद्दारमा सरकारको तदारुकताका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले दियो धन्यवाद ।

३. भाइटीकाको शुभ साइत : भाइटीकाको शुभ साइत तय, कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा शुभ साइत तय भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा जानकारी ।

४. युरोप भ्रमण स्थगित : जाजरकोट भूकम्पका कारण राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित, भोलि भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रूकुम पश्चिम जाने ।

५. प्रचार होइन राहत आवश्यक : भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिममा राहत आवश्यक रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइ, विपतमा प्रचार भन्दा सेवा महत्त्वपूर्ण हुने भन्दैउद्दार र उपचारमा खटिएका सबैप्रति आभार व्यक्त।

६. संघीयता खारेज गर्ने प्रयत्न : एउटा पक्ष संघीयता खारेज गर्न लागि रहेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको भनाइ, सङ्घीयता र समावेशी खारेज भए लोकतन्त्र खतरामा पर्ने टिप्पणी ।

७. समर्थन कायमै राख्ने : कोशी सरकारमा मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन कायमै राखेर प्रतिपक्षमा बस्ने नेकपा एमालेको निर्णय, भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिममा राहत आवश्यक रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइ, सत्ताको यात्रामा एमाले नरहेको स्पष्टोक्ति ।

८. मृतकको संख्या घट्यो : जाजरकोटमा भूकम्पमा ज्यान गुमाउनेको संख्या १ सय १ जना, यसअघि एकसय पाँचजना भनिएकामा नाम दोहोरिएको पाइएपछि मृतकको संख्या घट्यो, योसँगै जाजरकोट र रूकुम पश्चिममा भूकम्पमा परी ज्यान गुमाउनेको कुल संख्या १५३ जना ।

९. महानगरको सहयोग : काठमाडौं महानगरले भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिममा पठायो राहत सामग्री, इन्जिनियरिङ तथा प्राविधिक सहयोग चाहिए सम्पर्क गर्न मेयर बालेन साहको आग्रह ।

१०. दोस्रो खेप आइपुग्यो : भारत सरकारबाट जाजरकोट भूकम्प प्रभावितका लागि राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो, भारतीय राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले नेपालगञ्जका मेयर प्रशान्त विष्टको उपस्थितिमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई गरे हस्तान्तरण।

११. वार्तामा डाकियो : आरती साहलाई न्याय दिन माग गर्दै धर्नामा बसेको माइती पक्षलाई सरकारले वार्तामा बोलायो, जनकपुर उपमहानगरपालिका–९ थापा चोकका मोदीबाबु साहसँग विवाह गरेकी साहको दाइजोका कारण परिवारले हत्या गरेको माइती पक्षको दाबी ।

१२. अब गाँजा खेती : गाँजा खेती सम्भाव्यता अध्ययनका लागि सरकारले बनायो कार्यदल, गाँजालाई औषधिका रुपमा कसरी उपयोग गर्न सकिन्छ र गाँजाबाट औद्योगिकरणको सम्भाव्य अनुसन्धान गर्ने ।

१३. मुद्वा दायर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रसमेत १० जनामाथि भ्रष्टाचार आरोपमा मुद्वा दायर, राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोप ।

१४. विद्रोहीको आक्रमणमा मृत्यु : क्यामरूनको एक अशान्त एङ्लोफोन क्षेत्रको एउटा गाउँमा सोमबार अलगाववादी विद्रोहीले गरेको आक्रमणमा परी महिला र बालबालिकासहित करिब २० जनाको मृत्यु भएको सुरक्षा र स्थानीय अधिकारीहरूको दाबी, पश्चिमी क्यामरूनको एग्बेकाउ गाउँमा विगत सात वर्षदेखि विद्रोही र सरकारी सेनाबीच झडप जारी । अ

१५. क्यानले पनि पुरस्कार दिने : नेपाली क्रिकेट टीमलाई नेपाल क्रिकेट संघले पनि पुरस्कार दिने, ५० लाख दिने घोषणा ।