२७ कार्तिक २०८३, शुक्रबार

पहाडको बसाइँसराइ रोक्न नसके समृद्ध नेपालको परिकल्पना पूरा हुँदैनः प्रदीप ज्ञवाली

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० कात्तिक । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले पहाडमा पनि अवसर छ भन्ने सन्देश दिनु आजको आवश्यकता रहेको बताएका छन् ।

एमालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग जागरण अभियानको सन्दर्भमा रामेछाप र सिन्धुलीको खुर्कोटमा आइतबार आयोजित तयारी बैठकलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले विकास गाउँमा र पहाडमा उक्लिने मानिस भने तराई र सहर पस्ने क्रम बढ्दै गएको बताए । सहर र तराईमा जस्तै पहाडमा पनि सम्भावना छ भन्ने सन्देश दिन आवश्यक रहेको उनको भनाइ छ ।

नेपालको आर्थिक, सामाजिक विकास र राजनीतिमा पहाडको ठूलो भूमिका रहेको कुरा बिर्सन नहुने उनले बताए । विकासको मुख्य आधार सडक भएको बताउँदै पहाडको विकासलाई लक्षित गरी एमालेले मध्यपहाडी पुष्पलाल लोकमार्गको परिकल्पना गरेको ज्ञवालीले बताए । मध्यपहाडी पुष्पलाल लोकमार्ग निर्माणसँगै खुर्कोट लगायतका साना सहरको अवधारणा समेत अघि सारिएको उनले प्रष्ट पारे ।

एमालले सञ्चालन गर्न लागेको मध्यपहाडी पुष्पलाल लोकमार्ग जागरण अभियानले पहाडमा पनि अवसर छ भन्ने सन्देश दिने उनले विश्वास व्यक्त गरे । पहाडबाट बसाइँसर्ने क्रम रोक्न नसक्न हो भने समृद्ध नेपाल निर्माणको परिकल्पना पूरा नहुने उनले प्रष्ट पारे । ‘पहाडबाट बसाइँसराइको क्रम रोक्न नसक्ने हो भने समृद्ध नेपालको परिकल्पना पूरा हुँदैन’, उनले भने ।

जबसम्म पहाड समृद्ध हुँदैन, तबसम्म देश समृद्ध नहुने ज्ञवालीको भनाइ छ । ‘जबसम्म पहाडाले विकासको अनुभूति गर्दैन, तबसम्म सिंगो देशले विकासको अनुभूति गर्दैन’, ज्ञवालीले भने ।

एमाले सिन्धुलीका अध्यक्ष कुमारबहादुर कार्कीको अध्यक्षतामा भएको बैठकमा एमाले बागमती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुंगेल, केन्द्रीय सदस्य गणेश पहाडी, माधव ढुंगेल लगायतका केन्द्रीय नेताहरू, प्रदेश कमिटीका नेताहरू तथा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठ लगायत रामेछाप र सिन्धुली जिल्ला पार्टीका नेताहरूको सहभागिता रहेको थियो । बैठकमा सो अभियानको सन्दर्भमा रामेछाप र सिन्धुलीले गर्ने तयारीका बारेमा बैठकमा छलफल गरी योजना निर्माण गरिएको छ ।