८ कार्तिक २०८३, आइतबार

दिनभरका TOP 15 NEWS: जाजरकोटमा निरन्तर भूकम्पको पराकम्पन, भोलिदेखि अवैध मोबाइल नचल्ने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कात्तिक । जाजरकोटमा निरन्तर भूकम्पको पराकम्पन गइरहेको छ ।

डेढ घण्टाको अवधिमा जाजरकोट ६ परकम्प मापन गरिएको छ । शुक्रबारको भूकम्प यता आइतबार अपराह्न ४:१० बजेसम्म ३३९ परकम्प मापन गरिएको थियो । त्यसपछि अपराह्न ५:३५ बजेसम्म थप ६ परकम्प मापन गरिएको हो ।

शुक्रबारयता आइतबार अपराह्न ५:३५ बजेसम्म कुल ३४५ परकम्प मापन गरिएको छ ।

दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरू-

१. राहत उपलब्ध गराउने : भूकम्प पीडित परिवारलाई दुई लाख राहत दिने सरकारको निर्णय, राहत तथा उद्धारको कामलाई तीव्रता दिने र घाइतेको नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय ।

२. निरन्तर धक्का : जाजरकोटमा आइतबार मात्रै तीन पटक भूकम्पको धक्का महशुस, दिउँसो १ बजेर २२ मिनेटमा, २ बजेर २४ मिनेटमा ४ म्याग्निच्युडमाथिको र बिहान ४ बजेर ५३ मिनेटमा जाजरकोटमै ३.८ म्याग्निच्युडको धक्का मापन गरिएको जानकारी ।

३. शवको सनाखत : जाजरकोटमा भूकम्पका कारण मृत्यु भएका ९२ जनाको सनाखत, सनाखत गरिएका मध्ये ६८ जनाको शव आफन्तलाई जिम्मा लगाइयो ।

४. प्रधानमन्त्रीको निर्देशन : विपदपछिको उद्दार, राहत र पुनर्निर्माण प्रभावकारी बनाउनेतर्फ गम्भीर हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन, खोज, उद्दार र उपचारको काम मूलभूत रुपमा पुरा गरेको भनाइ ।

५. एमडीएमएस लागू हुँदै : भोलिदेखि मोबाइलमा एमडीएमएस प्रणाली लागू हुँदै, प्रणालीमा दर्ता नभएका फोनहरू क्रमश: ब्लक हुने ।

६. भूकम्प पीडितलाई सहयोग : सांसदको १५ दिन बराबरको पारिश्रमिक भूकम्प पीडितलाई दिने कांग्रेसको निर्णय, माओवजादी केन्द्रले ५० लाख दिने ।

 

७. दुर्गा प्रसाईलाई प्रहरीको चेतावनी : मेडिकल व्यवसायी दुर्गा प्रसाई पुगे साइबर ब्यूरो, विभिन्न राजनीतिक दलका शीर्ष नेतामाथि लगाएको आरोप पुष्टि गर्न नभए कारबाही भोग्न तयार रहन प्रहरीको चेतावनी ।

८. भ्रष्टाचार मुद्वा दर्ता : लुम्बिनी प्रदेश सचिव बैकुण्ठ अधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सम्झौता विपरीत कम क्षमता र गुणस्तरको कृषि यान्त्रिक उपकरण वितरण गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आरोप ।

९. शव आइपुग्यो : इजरायलमा हमासको आक्रमणमा मृत्यु भएका सबै नेपालीको शव नेपाल आइपुग्यो, गएराति फ्लाइ दुबइको विमानमार्फ डोटी लामीखाल–८ का पदम थापाको शव नेपाल आइपुगेसँगै सबै नेपाली विद्यार्थीको शव आइपुगेको जानकारी ।

१०. धमाधम राहत पुग्दै : सरकारले भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिममा पठायो त्रिपाल, ब्ल्यांकेट र स्लिपिङ ब्याग, ११ हजार ६१ थान त्रिपाल, ११ सय थान ब्ल्यांकेट, ११ सय थान स्लिपिङ ब्याग, पाँच सेट म्याट्रेस र ७ सय थान टेन्ट पठाएको जानकारी ।

११. नक्कली कागजात बनाउँदा…: टोखा र स्वयम्भूको विदेश जान आवश्यक पर्ने नक्कली कागजात बनाउने कारखानमा प्रहरीको छापा, नवलपुर मध्यविन्दु नगरपालिकाका जयराम श्रेष्ठ, गोरखा सिरानचोकका भक्तबहादुर थापा, काठमाडौँ महानगरपालिकाका दीपक केसी र सल्यान रामपुर कालिमाटी गाउँपालिकाका बलबहादुर रावत पक्राउ ।

 

१२. दुर्घटनामा गयो ज्यान : धनगढीबाट बाजुरा जाँदै गरेको जीप डोटीको शिखर नगरपालिका–६ स्थित केआइसिंह राजमार्गको अण्यौलमा दुर्घटना हुँदा बाजुराका चार जनाको घटनास्थलमै मृत्यु, मृत्यु हुनेमा हिमाली गाउँपालिका–५ का २२ वर्षीया राधिका मलाल, उनकी अन्दाजी आठ महिनाकी छोरी प्राथना, ३२ वर्षीया धनशोभा बुढा र ६ वर्षीय कविन्द्र बुढा ।

१३. पृथकतावादी नेताको धम्की : नोभेम्बर १९ मा एयर इन्डियाको विमानमा आक्रमण गर्ने सिख पृथकतावादी नेता गुरपतवन्त पन्नुनको धम्की, नोभेम्बर १९ मा दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल बन्द रहने र यसको नाम परिवर्तन गरिने दाबी ।

१४. उपाधि ओमानलाई : आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटको उपाधि ओमानलाई, नेपाल सुपर ओभरमा पराजित ।

१५. कुशल भुर्तेल बेस्ट : कुशल भुर्तेल बने आईसीसी टी–२० विश्वकप छनोटको बेस्ट ब्याटर, ओमानका बिलाल खान बेस्ट बलर घोषित ।