
काठमाडौं, १८ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जाजरकोट भूकम्पका घाइतेहरुको तत्काल उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालित हुन निर्देशन दिएका छन् ।
उनले भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार तथा राहत वितरणका लागि तीन वटै सुरक्षा निकाय परिचालन गर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्ः
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिले मर्माहित भएको छु । घाइतेहको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन् । उद्धार एवं राहतमा जुट्न सबैमा अपील गर्दछु ।
यसैबीच, जाजरकोटमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ भने भूकम्पमा परी सयौँको संख्यामा घाइते भएका छन् ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार भूकम्पमा परी २७ महिला र १० पुरुषको मृत्यु भएको छ । भूकम्पले जिल्लाका भेरी, नलगाड, कुशे, बारेकोट र छेडागाडमा क्षती पुर्याएको छ ।
भूकम्पका कारण घरहरु भत्किएको जानकारी प्राप्त भए लगत्तै उद्धारका लागि कर्णाली प्रदेश र प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोली परिचालन गरिएको छ ।











प्रतिक्रिया