२७ कार्तिक २०८३, शुक्रबार

एमालेको मध्यपहाडी लोकमार्ग यात्राको तयारी सुरु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । नेकपा (एमाले)ले आफ्नो ७५औं स्थापना दिवसको अवसरमा मंसिरको अन्तिम साता मध्यपहाडी लोकमार्गको यात्रा गर्दै वृहत पार्टी सुदृढिकरण अभियान सुरु गर्ने भएको छ ।

यात्राको सम्भाव्यता अध्ययनका लागि एमालेका दुई उपमहासचिवको नेतृत्वमा पूर्व र पश्चिममा टोली खटिएका छन् ।

पश्चिमको झुलाघाटबाट सुरु गर्ने भनिएको अभियानका लागि सम्भाव्यता अध्ययन गर्न उपमहासचिव विष्णु रिमालको नेतृत्वमा एक टोली सो स्थानको यात्रामा छ ।

अर्का उपमहासचिव प्रदीप ज्ञवालीको नेतृत्वमा एमालेका पोलिटब्यूरो सदस्य तिलकुमार मन्याङ्बो, केन्द्रीय सदस्यहरु वसन्त नेम्वाङ, अइन्द्र सुन्दर नेम्वाङ, किरण पौडेल, नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेत, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, उपाध्यक्ष टिकाराम चेम्जुङ, सचिव राजकुमार भण्डारी, नेपाल भूपू सैनिक प्रहरी संगठनका अध्यक्ष विनोद पाण्डेलगायतको टोली चिवाभञ्ज्याङसम्मको यात्रामा निस्किएको छ ।

दुबै टोलीले विभिन्न जिल्लाहरुको स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

एमालेको मंसिरमा हुने यात्रा पश्चिमको झुलाघाटबाट सुरु हुने बताइएको छ । यात्रामा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने बताइएको छ ।

यात्राले एमालेबारे आम मानिसमा सकारात्मक सन्देश जाने र यसले एमालेमाथि पछिल्लो समय फैलिएका भ्रम चिर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।