
पोखरा, १३ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा जितेको अहंकार त्यागेर पार्टीलाई एकतावद्ध बनाएर अगाडि बढ्न पार्टीको गण्डकी प्रदेश कमिटीलाई निर्देशन दिएका छन् ।
नवनिर्वाचित गण्डकी प्रदेश कमिटिले सोमबार पोखरामा आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सकेसम्म सर्वसम्मत नभए स्वस्थ प्रतिस्पर्धाका लागि दिएको सुझाव विपरीत गण्डकी प्रदेशमा प्यानल बनाएरै निर्वाचन भएकोप्रति पनि अध्यक्ष ओलीले असन्तुष्टी व्यक्त गरे ।
अध्यक्ष ओलीले प्रतिस्पर्धा भनेको विचारमा हुने भन्दै एमालेभित्र विचारमा एकता भएका बेला पदका लागि प्रतिस्पर्धा हुँदा गलत प्रवृति भित्रिन सक्नेमा सचेत रहनसमेत आग्रह गरे । अध्यक्ष ओलीले पार्टीको सम्पूर्ण ध्यान मिसन ८४ मा केन्द्रित गर्नुपर्ने भन्दै आन्तरिक विवादमा रुमलिन नहुनेमा जोड दिए । पार्टीका नेताहरुमा घमण्ड पसेमा अरु केही पस्न नपाउने र मानिसको पतन त्यहीँबाट सुरू हुने ओलीको भनाइ छ ।
अहंकार त्यागेर पार्टीले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान सफल बनाउने गरी काम गर्न प्रदेश नेतृत्वलाई उनले सुझाव दिए । एमाले सिध्याउन देशी विदेशी शक्ति लागेको बताउँदै ओलीले एमालेका नेता कार्यकर्ता, समर्थक शुभेच्छुक र आम जनताको आडमा एमाले जोगाउन सफल भएको दाबी गरे ।
कार्यक्रममा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्ट, स्थायी कमिटि सदस्यहरु खगराज अधिकारी र थममाया थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।















प्रतिक्रिया