काठमाडौँ, २२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि प्रमुख चार राजनीतिक दलहरुको बैठक आज अपरान्ह फेरि बोलाइएको छ ।
संविधानका विवादित विषयमा छलफलका लागि आज बिहान बोलाइएको प्रमुख चार राजनीतिक शक्तिको बैठक अपरान्ह ४ बजेका लागि सरेको हो । बैठकका लागि नेपाली काँग्रेस, एकीकृत नेकपा माओवादी र संयुक्त लोकतान्त्रिक मोर्चाका शीर्ष नेता प्रधानमन्त्री निवास बालुवाटार पुगेपनि एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थताका कारण देखाउँदै अनुपस्थित भएपछि बैठक सरेको हो ।
केहीबेर अनौपचारिक छलफल गरी बाहिरिएका मोर्चाका संयोजक विजयकुमार गच्छदारले राज्य पुनःसंरचनाका बारेमा छदेखि आठ प्रदेशसम्म जाने विषयमा लगभग सहमति भएको र त्यसबारे साँझ छलफल हुने बताउनुभयो ।
बिहीबार चार दलका शीर्ष नेताको बैठकले सहमतिको जिम्मा प्रमुख नेतालाई दिएको थियो ।
यता एमाले अध्यक्ष ओलीका स्वकीय सचिव रमेश आचार्यले ओली अस्वस्थ नभई अन्य व्यवस्थापनका कामका कारण बैठक सरेको जानकारी दिनुभयो ।
















प्रतिक्रिया