
काठमाडौं, ११ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ सालको चुनावमा सबै राजनीतिक दलहरुलाई पाखा लगाउने बताएका छन् ।
शनिबार ललितपुरमा आयोजित कार्यक्रममा लामिछानेले पुराना दलहरूले जनताका लागि केही गर्न नसक्ने भएकाले उनीहरुलाई पराजित नगरेसम्म जनताका समस्या जस्ताको तस्तै रहने उल्लेख गरे ।
दिनदहाडै हत्या गर्नेहरुलाई संविधान दिवसका दिनमा थुना मुक्त गरेर दलहरूले जनताको मतलाई उपहास गरेको उनको धारणा छ । लामिछानेले आउने चुनावमा कुनै पनि दललाई एक सीट पनि जित्न नदिने गरी आफूहरूले काम गर्ने उल्लेख गरे ।
सभापति लामिछानेले भ्रष्टाचारका फाइल खोल्ने भनेका दलहरु अहिले तर्सिएर फाइल नै बन्द गरेर बसेको टिप्पणी गरे । उनले नेपालीहरुको सुनौलो भविष्यको सपना देखाएर नेताहरुले आफ्ना मानिसका लागि सुनैसुनको महल खडा गरेको बताए ।
त्यस्तै उनले टाउकोको मोल तोक्ने र मोल बुझाउनेहरू अहिले सरकारमा घाँटी जोडेर बसिरहेको भन्दै संक्रमकालीन न्यायको नाममा युद्धका पीडितलाई थप पीडा दिने प्रयास भइरहेको आरोप लगाए ।















प्रतिक्रिया