
काठमाडौँ, ६ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपाल संघ (एनआरएनए) कब्जा गर्न निर्देशन दिएका छन् ।
चुनावमा पराजित भएपछि धाँधलीको आरोप लगाउँदै समानान्तर कार्य समिति बनाएका आरके शर्मा नेतृत्वको कार्यसमितिसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले एनआरएन कब्जा गरी अगाडि बढ्न निर्देशन दिँदै सरकारका तर्फबाट आफ्नो भरपूर साथ हुने बताएको भेटमा सहभागी एक पदाधिकारीले दैनिक नेपाललाई बताए ।
प्रधानमन्त्री प्रचण्डले आरके शर्माको टिमलाई स्याबासी दिँदै शुभकामना पनि दिएका थिए । प्रधानमन्त्री प्रचण्डसँगको भेटमा सहभागीहरू एनआरएनए उपमहासचिवमा चुनाव जितेका प्रविन गुरुङबाहेक सबै पराजित उम्मेदवारहरू थिए ।

अवैधानिक समूहलाई यसरी प्रधानमन्त्रीले भेटेर उक्साउनुलाई धेरैले २०७० सालको संसदीय निर्वाचनसँग तुलना गरेका छन् । २०७० सालको निर्वाचनमा माओवादी पूरै बढारिएको थियो ।चुनावमा पराजित भएपछि प्रचण्डले धाँधली भयो भन्दै चुनावी परिणाम अस्वीकार गरेका थिए । लामो समयसम्म माओवादीले बबण्डर मच्चाएको थियो । २०६४ मा पहिलो पार्टी बनेको माओवादी प्रचण्डको यही हर्कतपछि अहिले करिब करिब सकिने अवस्थामा पुगेको छ । अहिले एनआरएनमा त्यस्तै भएको छ ।
प्रचण्डको समर्थन पाएर चुनाव लडेका राजेन्द्र शर्मा (आरके) पराजित भएका छन् । एनआरएन अभियन्ताहरूका अनुसार आरके शर्मा तुलानात्मक रूपमा असल छविका व्यक्ति हुन् । तर, चुनावमा उनले धेरैलाई पैसाको खोलो बगाए । प्रचण्डको निर्देशन र उनको पैसामा हालीमुहाली गर्नेहरूको उक्साहटमा आरकेले समानान्तर समिति बनाएको एनआरएनहरू बताउँछन् । एनआरएनमा विजयी बनेका डा. बद्री केसीसँग बदला लिन महेश श्रेष्ठले समेत चलाखीपूर्वक आरकेलाई प्रयोग गरेका छन् । संस्थामा व्यक्ति ठूलो कुरा होइन तर संस्था नै सक्ने गरी प्रचण्डको निर्देशनमा एनआरएनको एउटा समूह लागेपछि धेरैले चिन्ता र संशय व्यक्त गरेका छन् ।
पराजित समूहले नेताहरूमा घरदैलो गरेकोमा गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित उपाध्यक्ष डा. हेमराज शर्माले खरो टिप्पणी गरेका छन् ।

राजनीतिक दलहरुले एनआरएन कब्जा गर्न खोजेको भन्दै उनले एनआरएनएको हालै सम्पन्न निर्वाचनलाई लिएर कसैको जित र हारलाई पार्टीहरुले आफ्नो प्रतिष्ठासँग जोड्न नहुने बताएका छन् । निर्वाचनको परिणामलाई अस्विकार गरेर कलंकको टीका नलगाउन पनि उनको सुझाव छ ।
एनआरएनमा खासमा भएको के हो ?
संघको ११औं महाधिवेशनबाट डा. बद्री केसीसहितको टीम विजयी भएको छ । चुनाव परिणाममा उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलको काठमाडौंबाट खसेको मत संख्या शून्य देखिएको थियो । डा. पौडेलको काठमाडौंबाट झरेको मत शून्य देखिएपछि शर्मा र श्रेष्ठले सिस्टम ‘ह्याक’ गरेर डा.केसी समूहले ‘धाँधली’ गरेको आरोप लगाएका थिए ।
एनआरएनएको ११ औं महाधिवेशनमा ४२ सय २७ कुल मतदाता थिए । ती मध्ये ३९ सय ५८ अर्थात् ९३.७ प्रतिशतले मतदान गरेका थिए । काठमाडौंबाट करिव ८ सयले मत खसालेका थिए । ‘भेरो भोटिङ’ले दिएको प्रष्टीकरण अनुसार डा. केशव पौडेलको अन्तिम स्पेलिङमा प्राबिधिक त्रुटि भएको थियो ।

प्रवासबाट गरिएको मतदानमा डा.पौडेलको अन्तिम अल्फाबेट ‘भी’ कायम भएको थियो । तर नेपालबाट भएको मतदानमा अन्तिम स्पेलिङ ‘बी’ कायम भएको थियो । देशबाहिर अर्थात ‘भी’का मात्रै काउन्ट गरिँदा समस्या उत्पन्न भएको थियो । पछि ‘चेक’ गर्दा नेपालबाट पौडेललाई ३ सय ५६ मत प्राप्त भएको थियो । प्रवासबाट १२ सय ४४ र नेपालबाट ३ सय ५६ मत गरी १६ सय मत प्राप्त गरी उनी उपाध्यक्षमा विजय भएको ‘भेरो भोटिङ’ले उल्लेख गरेको छ ।
एनआरएनका अभियन्ता तथा उपाध्यक्षमा निर्वाचित डा. विनोद श्रेष्ठका अनुसार खासमा झगडाको मुख्य निहुँ त्यही हो । यो समाधान नै हुन नसक्ने समस्या थिएन। तर, पराजित समूहलाई यसैलाई बहाना बनाएर परिणाम अस्वीकार गरेका छन । जबकी अष्ट्रेलियाको भेरो कम्पनीलाई अनलाइन भोटिङको जिम्मा दिने निर्णय अध्यक्षमा पराजित राजेन्द्र शर्मा र महेश श्रेष्ठसहितको समितिले गरेको थियो । भेरो भोटिङ कम्पनीसँग आफूलाई जोडेर आरोपित गरेकोमा आफू आश्चर्यचकित भएको अध्यक्ष डा.केसीको भनाई छ ।
यसो त चुनावमा धाँधलीको आरोप लागेपछि ‘भेरो भोटिङ’का सञ्चालकहरुसँग निर्वाचित अध्यक्ष डा.केसी, दुई प्रत्याशी शर्मा र श्रेष्ठसहित निर्वाचन समितिका संयोजक यादव ढुङ्गानासहित समितिका सदस्यहरु ‘भेरो भोटिङ’ कम्पनीका सञ्चालक तथा प्राविधिकसँग जुम बैठक भएको थियो । प्रतिनिधिहरुको लागि पनि खुल्ला गरिएको जुम बैठकमा पूर्व अध्यक्ष जीबा लामिछाने, कुमार पन्त, संस्थापक भिम उदास, रामप्रताप थापा पनि सहभागी थिए।
जुम बैठकपछि ‘धाँधली’को आरोप लगाएका शर्मा र श्रेष्ठको समूह पनि सन्तुष्ट थियो । तर, चुनावमा आफैले अबलम्बन गरेको प्रक्रिया मान्दिन भन्दै शर्मा र महेश श्रेष्ठ समूहले एनआरएनए बिभाजन गर्दा संसारभर रहेका गैरआवासीय नेपालीको भावानामा चोट पुगेको निर्वाचित सचिव डा. नवराज रोश्यारा बताउँछन् ।
अष्ट्रेलियाको भोटिङ कम्पनी ‘भेरो भोटिङ’ २० वर्षअघि स्थापना भएको ख्यातीप्राप्त संस्था हो । यसले अष्ट्रेलियाका दर्जनौं सरकारी अनलाइन भोटिङ्ग सफलरूपमा सम्पन्न गराएको छ । यसले एनआरएनएको पनि ९ देशको अनलाइन भोटिङ्ग यसअघि गराएको थियो । एनआरएनएको रेकर्ड अनुसार यसले एनआरएनएको ९ देशको अनलाइन भोटिङ्ग यसअघि गराएको थियो । अमेरिका, अष्ट्रेलिया कतार, माल्टा, बेलायत, क्यानडा, जापान, कतार लगायतका देशको निर्वाचन गराएको थियो ।











प्रतिक्रिया