२ कार्तिक २०८३, सोमबार

बराहपोखरीबाट एक करोड ७५ लाखको खसी बिक्री

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

खोटाङ, ४ कात्तिक । दसैँ तिहारको अवसरमा खोटाङको बराहपोखरी गाउँपालिकाबाट रु एक करोड ७५ लाख बढीको खसी काठमाडौं निर्यात भएको छ । खसी बाख्रापालनका लागि उपयुक्त भूगोल मानिने बराहपोखरीबाट ठेकेदारको पाँच समूहले आठ सय ७५ खसी काठमाडौं पुर्‍याएका छन् ।

एउटा खसीको सरदर मूल्य रु २० हजार मान्दा रु एक करोड ७५ लाखभन्दा बढी रकम पालिका भित्रिएको बराहपोखरी गाउँपालिकाका पशु सेवा शाखा प्रमुख आशिष बञ्जराले जानकारी दिएका छन् । खसी खरिदका लागि ठेकेदारको समूह गाउँपालिकाका छवटै वडाका किसानको घर–घरमा पुगेका थिए ।

दसैँतिहारका अवसरमा घरैमा खसी बिक्री हुँदा कतिपय एकैघरका किसानले रु पाँच–छ लाखसम्म हात पारेका छन् । कतिपय किसानले एउटै खसी ८० केजी तौलसम्मका बिक्री गरेका छन् । किसानबाट खरिद गरिएको खसीलाई ठेकेदारले धाप्लाङघाटस्थित सुनकोसी पार गराएपछि आठवटा ट्रक र दुईवटा बोलेरोमा हालेर अन्यत्र लगेका थिए । उनीहरुले खसीलाई धाप्लाङघाटसम्म हिँडाएर पुर्‍याएका थिए ।

कतिपय खसी यही कात्तिक १ गते बिहान र कतिपय खसी कात्तिक २ गते बिहान काठमाडौं पुर्‍याएको पशु सेवा शाखा प्रमुख बञ्जराले जानकारी दिएका छन् । कतिपय किसानले आफैँ उदयपुरको गाईघाटमा लगेर खसी बिक्री गरिरहेका छन् ।

दश स्थानीय तह रहेको जिल्लाबाट यस वर्षको दसैँतिहारका अवसरमा करोडौँ मूल्य बराबरको खसी निर्यात भएको बाख्रापालन व्यवसायी संघ खोटाङले जनाएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा पछिल्लो समय व्यावसायिकरूपमा बाख्रापालन गर्ने किसानको संख्या बढ्दै गएको छ ।