
काठमाडौं, ३० असोज । सरकारले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सुरु गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा मंगलबार आयोजित एक कार्यक्रममा गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष बद्री केसी र अध्यक्ष कुल आचार्यलाई गैरआवासीय नागरिकता प्रदान गर्दै सुरुआत गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले यही असोज २९ गते कार्यकारी अध्यक्ष केसी र जिल्ला प्रशासन कार्यालय पर्वतले यही असोज २८ गते अध्यक्ष आचार्यका नाममा नागरिकता जारी गरेको थियो । नेपालको संविधानको धारा १४ मा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सकिने व्यवस्था अनुसार संविधान जारी भएको लामो समयपछि सरकारले नेपाल नागरिकता ऐन २०६३ मा २०८० जेठ १७ गते भएको संशोधनबाट गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नागरिकता प्रदान गर्ने व्यवस्था गरेको छ ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ५० औँ लाख गैरआवासीय नेपालीहरूले नेपाली नागरिकता प्राप्त गर्ने प्रबन्ध गरिएको बताए । उनले गैरआवासीय नेपालीहरुलाई नागरिकता दिलाउनु निकै ठूलो उपलब्धि भएको भन्दै नेपालको संविधानमा गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक, साँस्कृतिक अधिकारसहितको नागरिकताको व्यवस्था भए पनि कानुनी व्यवस्था गर्न निकै ठूलो संघर्ष र मेहनत गर्नुपरेको स्पष्ट पारे ।
प्रचण्डले आफू प्रधानमन्त्री भएलगत्तै राष्ट्रपतिबाट नागरिकता विधेयक जारी भएको र त्यससम्बन्धी नियमावली बनेर एनआरएनले नागरिकता पाउने बाटो खुलेको बताउँदै यो उपलब्धि कसको संघर्ष र सफलताबाट प्राप्त भयो भन्ने कुरा सबै गैरआवासीय नेपालीलाई बुझाउन एनआरएन नेतृत्वलाई आग्रहसमेत गरे । प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमार्फत योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आबद्ध गर्ने निर्णय लागू भइसकेको समेत जानकारी दिए । उनले गैर आवासीय नेपाली सम्बन्धित थुप्रै सवाललाई सरकारको नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गर्ने पहल गरेको बताए ।
कार्यक्रममा संघका अध्यक्ष कुल आचार्यले नेपाली नागरिकता पाएसँगै फेरि आफूहरुसँग भएको स्रोत, साधन, सिप, अनुभव र विश्वव्यापी सन्जाल उपयोग गरेर मातृभूमिको सेवा गर्न पाउँदा भावुक बनेको धारणा राखे ।
गैरआवासीय नेपाली नागरिकताले अभिभावकसँगै छोराछोरी र नातीनातिनालाई पनि नेपालसँग जोड्ने भन्दै उहाँले वंशजको आधारमा प्राप्त नागरिकता निरन्तरताका लागि नेपाल सरकार र राजनीतिक दलहरुलाई आग्रह गरे । उनले मातृभूमिको माटो विदेशको माटोमा नमिसाइदिन गैरआवासीय नेपालीहरुलाई आग्रह समेत गरे ।















प्रतिक्रिया