
काठमाडौं, २५ असोज । काठमाडौंमा प्रहरीले लुटेरालाई गोली चलाएर पक्राउ गरेको छ ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ जगडोलमा बिहीबार दिउँसो प्रहरीले लुटेरा समूहलाई नियन्त्रणमा लिन गोली चलाएको हो। तीनवटा मोटरसाइकलमा आएका लुटेरालाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड गोली चलाएको हो ।
प्रहरीको गोली लागेर सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर २ घर भएका ३६ वर्षीय अमर घलान घाइते छन्। उनको दाहिने खुट्टाको तीघ्रा र घुँडामुनि गोली लागेको छ । प्रहरी घलानसहित तीन जनालाई पक्राउ गर्न सफल भएको छ ।
पक्राउ पर्नेमा घलानसँगै सिन्धुपाल्चोक घर भएका ३० वर्षीय जितेन लामा र सर्लाही घर भएका ३६ वर्षका सन्त लामा रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट एउटा पेस्तोल, सात राउण्ड गोली र मोटरसाइकल बरामद गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया