
कैलाली, २२ असोज । “अहिले यहाँ कति बेला के हुन्छ, केही आत्तोपत्तो छैन । हामीहरु शनिबारदेखि बङ्करमा लुकेर ज्यान जोगाउन बाध्य छौँ । यहाँ सोचेजस्तो सहज केही पनि छैन । कति बेला आकासमा कालो धुँवाको मुस्लो उठ्छ थाहै हुँदैन । निकै नै त्रसित माहोल छ मिसाइल कति बेला कताबाट आयो पत्तो पाइदैन”, इजरायलमा रहेका कैलालीको टीकापुरका निश्चल पाण्डेले पठाएका म्यासेज हो ।
सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान सङ्कायबाट ‘अर्न एण्ड लर्न कार्यक्रम’मार्फत इजरायल पुगेका पाण्डेका अनुसार अगाडि भनेका छन्, “साइरनको त्यो ठूलो आवाजले सातो जान्छ । आकाशमा हेलिकोप्टर र फाइटर जेट निरन्तर उडिरहेका छन् । बङ्करमा पनि सोचें जस्तै सहज केही छैन् । न खाना न पानी अनि त्यो चिसो भूइँमा त्रासैत्रासमा बिताउनुको पीडाले नर्कमा भएको अनुभूति भएको छ । आजको रात निकै लामो हुने छ । पर्खाइ त्यो भोलि शुभ बिहानीको हुनेछ ।”
उनले सन्देश पठाएको केही समयपछि उक्त आक्रमणमा परी १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएको समाचार आयो । सो घटनापछि सुदूरपश्चिम विश्वविद्यालय शोकमा परेको छ ।
“घटनाले विद्यार्थी हतोत्साहित बनेका छन् । शिक्षक भावविह्वल बन्नुभएको छ । क्याम्पसका सबै पठनपाठन बन्द भएका छन् । आन्तरिक परीक्षा स्थगित भएको छ”, क्याम्पसका उपप्राध्यापक प्रेम पाण्डेले भने, “हामीसँग बोल्ने शब्द बाँकी छैनन् । घटनाले हामीलाई विवश बनाएको छ ।” उक्त घटनाले विद्यार्थीको मनोबल कमजोर बन्ने स्थिति देखिएको उनले बताए ।
विश्वविद्यालयबाट भदौ २६ गते इजरायल पुगेका निश्चल पाण्डेका बुबा उत्तम पाण्डेले आफ्नो छोरासहित सबै विद्यार्थीलाई नेपाल फिर्ताका लागि सरकारसँग आग्रह गरेका छन् । उनले छोरासँग सम्पर्क भइरहेको बताउँदै त्यहाँ रहेका विद्यार्थी निकै असुरक्षित भएको बताए । विश्वविद्यालयको कृषि विज्ञानतर्फ स्नातक तहको अन्तिम सेमिष्टारका ४९ जना विद्यार्थीमध्ये भदौ २६ गते १५ जना र भदौ २७ गते ३५ जना विद्यार्थी इजरायल गएका थिए । उनीहरुमध्ये १० जना छात्रा छन् । उनीहरु १० महिनाका लागि इजरायल गएका थिए ।
विद्यार्थीले लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत साताको एक दिन अध्ययन, पाँच दिन काम र एक दिन छुट्टीमा बस्ने उल्लेख थियो । कृषि विज्ञान सङ्कायले कार्यक्रम अन्तर्गत पहिलो पटक विद्यार्थी पठाएको हो ।















प्रतिक्रिया