३ कार्तिक २०८३, मंगलबार

कतिपय स्थानमा भइरहेका क्रियाकलापमा संयमता अपनाउन पूर्वराष्ट्रपति भण्डारीको अपिल

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका कतिपय स्थानमा भइरहेका क्रियाकलापका सन्दर्भमा सबैलाई जिम्मेवार बन्न, धैर्य धारण गर्न र संयमता अपनाउन अनुरोध गरेकी छिन् ।

सामाजिक एकता र सद्भाव कायम गर्ने सम्बन्धमा दिनुभएको सार्वजनिक सन्देशमा उहाँले नेपाली समाजमा सदियौँदेखि कायम रहेको धार्मिक, सांस्कृतिक एवं अन्तरसामुदायिक सद्भाव र सहिष्णुतामा गम्भीर प्रश्न उत्पन्न हुने गरी भएका घटनाप्रति ध्यानाकर्षण गराएकी छिन् ।

पूर्वराष्ट्रपति भण्डारीले भनेकी छिन्, “समाजमा शान्ति खल्बलिने तथा प्रचलित कानुनको पालनामा प्रतिकूल असर पर्ने गरी नेपाली जनतालाई नै एकअर्काविरुद्ध उभ्याउने गतिविधिमाथि मलजल गर्न मिथ्या सूचना र झुटा समाचारको समेत उपयोग भइरहेकोतर्फ समेत म सबैको ध्यान आकृष्ट गर्न चाहन्छु ।”

नेपाली समाजको धार्मिक, सांस्कृतिक, भाषिक तथा जातीय विविधतालाई हामीले देशको सौन्दर्य र सम्पदाका रूपमा आत्मसात् गर्दै आएको बताउँदै उनले विविधताबीचको एकता, आपसी सद्भाव एवं सहिष्णुता नै हाम्रो राष्ट्रिय शक्ति भएको उल्लेख गरेकी छिन् । उनले भनिन्, “हाम्रो संविधानले पनि ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’ भनी नेपाल राष्ट्रलाई परिभाषित गरेको छ ।”

संविधानले सबै नेपाली जनतालाई सम्मान र समानताको अधिकार प्रदान गरेको हामी सबैमा विदितै रहेको उल्लेख गर्दै उनले सबै नागरिकलाई आ–आफ्नो धर्म, संस्कृति र परम्पराको निर्वाध पालनाका लागि हाम्रो संविधान, कानुन र राजनीतिक संरचनाले पर्याप्त स्थान दिएको बताएकी छिन् ।

पूर्वराष्ट्रपति भण्डारीले भनिन्, “हाम्रो मुलुकमा कसैले पनि आफूलाई कुनै खास भौगोलिक, जातीय, भाषिक वा सांस्कृतिक पृष्ठभूमिका कारण उच्चताबोध वा हीनताबोध गर्नुपर्ने अवस्था छैन ।”

इतिहासको अवशेषका रूपमा समाजमा अझसम्म कायम रहेका कतिपय कुरीति, तुस र असन्तोषलाई आपसी संवाद, अन्तक्र्रिया र कानुनी उपचारका माध्यमबाट मेटाउँदै जानुपर्नेमा जोड दिँदै उनले आपसी विश्वास र सहिष्णुताको वातावरणलाई नयाँ उचाइमा पुर्‍याउन आवश्यक रहेको बताइन् ।

“ एकअर्काको धार्मिक आस्था र सांस्कृतिक परम्परालाई सम्मान गर्ने ऐतिहासिककालदेखिको हाम्रो असल परम्परालाई थप सुदृढ तुल्याउनुपर्दछ ।” जातीय र धार्मिक सद्भाव कायम राखेर मात्र समाजमा सबै नागरिकको सुरक्षा एवं सम्मानको प्रत्याभूति दिन सकिने उल्लेख गर्दै भनिन्, “हामीलाई हाम्रै देशको माटोमा विकास भएका जनक, बुद्ध, वैदिक, शैव तथा प्रकृतिपूजक सभ्यताले यही शिक्षा दिँदै आएका छन् ।”

आजको घडीमा हामी सबैले हाम्रो सभ्यताका मार्गदर्शनलाई गहिरो गरी आत्मसात् गर्नसक्नुपरेको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले हाम्रासामु समाजलाई थप उन्नति र प्रगतिको दिशातर्फ अगाडि बढाउन चुनौती भए पनि सङ्कल्प बलियो रहेको विचार उनले प्रकट गरेकी छिन् ।