
– रबिना बोहरा
बागलुङ, २० जेठ । बागलुङ जिल्लामा यसबर्ष २ सय १७ क्विन्टल खाद्यान्न बालीमा क्षति भएको छ ।
जिल्ला कृषि विकास कार्यालय बागलुङका अनुसार जिल्लाभरीको तथ्याङ्क हेर्दा २ सय १७ क्विन्टल खाद्यान्न बालीमा मात्रै क्षति भएको हो । बरिष्ठ कृषि विकास अधिकृत विनोद हमालले दिएको जानकारी अनुसार जिल्लामा जम्मा २१ दशमलब ७ मेट्रिक टन खाद्यन्न बाली नष्ट भएको हो । ५३ हजार मेट्रिक टन खाद्यन्न बाली उत्पादन हुने बागलुङ जिल्लामा यसबर्ष कम क्षति भएको कृषि कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
क्षति भएको खाद्यन्न बाली मध्ये स्टोरमा राखिएको ५० प्रतिशत चामल नष्ट भएको छ । खाद्यान्न बालीमा धान, गहु“, मकै, जौ, फापर पर्ने भन्दै उहाँले स्टोर गरिएको धानमा बढी क्षति भएको बताउनुभयो ।
बागलुङ जिल्ला स्थित बिनामारे, जैदी, क्षिस्ती, सर्कुवा, दमेक, सिगाना, नारायणस्थान गाविसमा बढी क्षति भएको कार्यालयले जनाएको छ । गत बैशाख १२ गते गएको विनाशकारी भूकम्प र पटक पटकको पराकम्पनका कारण खेती लगाउनका लागी केहि ढिला भएता पनि बागलुङ बढी प्रभावित जिल्ला नभएकाले खाद्य सुरक्षामा धेरै क्षति हुन नपाएको जिल्ला कृषि विकास कार्यालय बागलुङका कृषि प्रसार अधिकृत विप्लव अधिकारीले जानकारी दिनुभयो ।















प्रतिक्रिया