
काठमाडौं, १२ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले अहिले सरकारमा जान नखोजेकाले वर्तमान सरकारको विकल्प आफूले नदेखेको बताएका छन् ।
शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले सरकार हटाउने हो भने अर्को उपयुक्त विकल्प आफूले नदेखेको बताएका हुन् ।
प्रमुख पार्टीहरू जिम्मेवार हुँदा अर्को विकल्प हुन सक्ने बताउँदै ओलीले नेपाली काँग्रेसमा त्यो तहमा गएर सोच्ने सामथ्र्य नदेखिएको टिप्पणी गरे । काँग्रेस कुन संसारमा छ नै थाहा नभएको ओलीको धारणा छ ।
‘हामी सरकारमा जान चाहिरहेका छैनौँ । यो सरकार हटाउने हो भने अर्को उपयुक्त विकल्प हुने स्थिति म देख्दिँन । त्यसका लागि प्रमुख पार्टीहरू जिम्मेवार हुँदा अर्को विकल्प हुन्थ्यो होला तर त्यस तहमा गएर सोच्ने खालको क्षमता, सामथ्र्य नेपाली काँग्रेसमा अहिले देखिएको छैन । नेपाली काँग्रेस कुन संसारमा छ नै थाहा छैन हामीलाई ,’ओलीले भने ।
ओलीले काँग्रेसमा देशप्रतिको चिन्ता, गम्भीरता, केही पनि नदेखिएको बताए । काँग्रेस बेल्दै संसारमा रहेको भन्दै ओलीले काँग्रेससँग मिल्ने नमिल्ने भन्ने प्रश्न नै नउठ्ने बताए ।
फरक प्रशंगमा ओलीले प्रादेशिक हिसाबमा पनि मध्यावधिमा जानु उपयुक्त नहुने भन्दै मध्यावधितर्फ धकेल्ने कुरा बुद्विमानी नहुने धारणा राखे । यदि मध्यावधिमा गए एमालेलाई बहुमत ल्याउने अवसर मिल्ने उनको भनाइ छ ।
अध्यक्ष ओलीले पार्टीको प्रदेश अधिवेशनमा पार्टी अध्यक्षले भनेको कुरा नेता कार्यकर्ताले मानेनन् भन्ने गलत प्रचार भइरहेको भन्दै आफूले सके सर्वसम्मति नभए स्वस्थ प्रतिस्पर्धा गर्न सुझाव मात्रै दिएको जिकिर गरे ।















प्रतिक्रिया