१ कार्तिक २०८३, आइतबार

म्याग्दीको महभिर गाउँ पहिरोको जोखिममा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, १२ असोज । म्याग्दीको मालिका गाउँपालिका–४ महभिरको बस्ती पहिरोको जोखिममा परेको छ । बस्तीमाथिको पाखोबाट खसेको पहिरोले दुुई वटा घर भत्किनुका साथै खानेपानी र सडक आयोजनामा क्षति पुगेको छ । वडासदस्य गर्वे गुरुङले काले कामी र तुलबहादुर घर्तीको घर भत्किएको र १३ घर जोखिममा परेको जानकारी दिए । “पहाडको फेदीबाट सुरु भएको दुुई वटा पहिरो फेदीमा रहेको रितुङखोला सम्म पुुगेको छ”, उनले भने, “ट्याङ्की, मुहान र पाइपलाइनमा क्षति पुगेकाले २५ घरधुरीले प्रयोग गर्ने खानेपानी आयोजना अवरुद्ध भएको छ ।”

फूलबारी–महभिर–च्युरीबोट सडक अवरुद्ध भएको छ । पहिरोले गाउँको बिचमा ठूलाठूला खोल्सी बनाएको छ । खोल्सा छेउछाउको जमिन चिरा चिरा भएको छ । दुई सय रोपनी भन्दा बढी खेतीयोग्य जमिनमा पनि पहिरोले क्षति गरेको छ ।

गत बुुधबार राति आएको पहिरोले तुुलबहादुरको गोठमा रहेका एक वटा राँगो र एक वटा गोरु मरेका थिए । “हामी त्यो दिन घरमा नभएकाले पहिरोबाट बचियो”, तुलबहादुरले भने, “११ जनाको परिवार आफन्तकोमा आश्रय लिएर बसेका छौँ ।”

काले कामीले पहिरोले पुरिएकोबाहेक अर्को ठाउँमा रहेको घडेरीमा पनि पहिरोको जोखिम भएकाले कहाँ बस्ने भन्ने चिन्ताले सताएको बताए । पूर्णदेवी घर्ती, सहबहादुुर घर्ती, सहबहादुर सुनार, लालबहादुर कामी, तिलक कामी, गोेरे कामी, पोविसरा सुनार, वीरबहादुर कामी, मुक्तिराम सुनार, कुलप्रसाद घर्ती, भीमप्रसाद सुनार, रहमन घर्ती र कुमारी घर्तीको घर जोखिममा रहेका वडासदस्य गुरुङले बताए ।

सो ठाउँमा गत हिउँदमा पनि सुक्खा पहिरो खसेर एक वटा घरमा क्षति गरेको थियो । पहिरो प्रभावित क्षेत्रको बिहीबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले निरिक्षण गरेका थिए ।

“पहिरोबाट घरवास गुुमाएकालाई जिल्ला प्रशासन कार्यालय मार्फत राहतको व्यवस्था हुुन्छ”, उनले भने, “घर पुनःनिर्माणका लागि तिनै तहका सरकारको साझेदारीमा रु पाँच लाखका दरले अनुदान उपलब्ध गराउने व्यवस्था भएकाले सोहीअनुसार सहयोग गर्छौं ।”

तत्कालीनरुपमा खानेपानी आपूर्ति र सडक मर्मत तथा पहिरोबाट थप क्षति हुन नदिने र दीर्घकालीन रुपमा पहिरो नियन्त्रण तथा बस्ती संरक्षण अथवा स्थानान्तरणको योजना कार्यान्वयन गरिने उनले बताए । रासस