२ कार्तिक २०८३, सोमबार

रक्ताम्मे शरीर लिएर बलात्कृत बालिका दुई घण्टा बढी सडकमा हिँडेपछि…

4.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असोज । छिमेकी देश भारतको मध्य प्रदेशको उज्जैनमा एक बलात्कृत बालिका साढे दुई घण्टासम्म सडकमा हिँडेको घटना सार्वजनिक भएको छ ।

गत सोमबार साँझ उज्जैनको बडनगर सडकमा बालिका घाइते अवस्थामा फेला परेकी थिइन् ।

सडकम जडान गरिएको सीसीटीभी क्यामेराले १२ वर्षीया बालिका फेला पारेको थियो । बालिका आधा नग्न थिइन् भने शरीर रगतले भिजेको थियो ।

बालिका उज्जैनको बडनगर सडकमा आठ किलोमिटर हिँडेकी थिइन् तर उनलाई देखे पनि कसैले पनि सहयोग नगरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

अत्यधिक रक्तश्रावका कारण बालिकालाई इन्दौर अस्पतालमा भर्ना गरिएको थियो । बालिका अहिले खतरामुक्त रहेकी छन् । चिकित्सकले बालिकामाथि बलात्कार भएको पुष्टि गरेका छन् ।

प्रहरी अधिकारीले बालिकालाई उनको नाम र ठेगाना सोधेका थिए तर उनले जवाफ दिन नसकेको समाचारमा उल्लेख छ । उनी उत्तर प्रदेश प्रयागराज निवासी भएको प्रहरीको अनुमान छ ।

मध्य प्रदेश सरकारले घटनाको अनुसन्धान भइरहेको र एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।

यसैबीच, भारतीय कंग्रेस नेता राहुल गान्धीले मध्य प्रदेशमा १२ वर्षीया बालिकामाथि भएको जघन्य अपराधले भारत माताको हृदयलाई आघात पारेको बताएका छन् ।

उनले मध्य प्रदेशमा महिला विरुद्धको अपराध र नाबालिग बालिका विरुद्धको बलात्कारका घटनाहरु धेरै भएको भन्दै भाजपा नेतृत्वको सरकार छोरीहरूको रक्षा गर्न असमर्थ रहेको टिप्पणी गरे ।

‘न्याय छैन, कानून व्यवस्था छैन र अधिकार छैन – आज मध्यप्रदेशका छोरीहरूको अवस्था देखेर सिंगो देश लज्जित छ ।’ गान्धीले ट्वीटरमा लेख्दै भनेका छन्, ‘तर प्रदेशका मुख्यमन्त्री र देशका प्रधानमन्त्रीलाई लाज लाग्दैन– चुनावी भाषण, खोक्रो बाचा र झुटा नाराका बीचमा छोरीको चिच्याहटलाई दबाएका छन् ।’