३ कार्तिक २०८३, मंगलबार

अध्यक्ष ओलीले यसरी सम्झिए नेपालविरुद्ध भारतले लगाएको नाकाबन्दी

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आजभन्दा ८ वर्ष अघि अर्थात २०७२ असोज ६ गतेबाट नेपालविरुद्ध छिमेकी देश भारतले लगाएको नाकाबन्दी सम्झिएका छन् ।

ओलीले शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ८ वर्ष अघि आजको दिन सम्झिएका हुन् ।

‘आज असोज ६ गते । आज भन्दा ८ वर्ष अघिको आजको दिन सम्झन्छु । जीवनमा कतिपय दिन यस्ता हुन्छन् – तिनलाई कहिलै बिर्सिन सकिँदैन । अस्पतालमा अक्सिजन, औषधि, बजारमा पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास लगायतका दैनिक उपभोग्य वस्तुको हाहाकार थियो ।’ नाकाबन्दीलाई सम्झदै अध्यक्ष ओलीले भनेका छन्, ‘इन्धन नभएर अस्पताल जान नपाउने, खाना पकाउन नपाउने, भोकै बस्नु पर्ने पीडा भोग्यौं । देश भित्र र बाहिर बस्ने सबै नेपाली जनताले करिब छ महिनासम्म भएको नाकाबन्दीलाई पराजित गरेका थियौं ।’

उनले इतिहासले देशलाई आत्मनिर्भर बनाउने प्रेरणा दिने समेत उल्लेख गरेका छन् । ‘कुनै दिनले इतिहास सम्झाउँछ र इतिहासले देशलाई आत्मनिर्भर बनाउने प्रेरणा दिन्छ । जतिसुकै अवरोध भए पनि, जतिसुकै प्रहार भए पनि, जतिसुकै घेराबन्दी भए पनि देशलाई आत्मनिर्भर बनाउने अभियान छोड्नु हुँदैन । तपाईंहरूले ती दिनलाई कसरी सम्झनु भएको छ ?’ अध्यक्ष ओलीले भनेका छन् ।

संविधानसभाबाट २०७२ असोज ३ गते नेपालको नयाँ संविधान जारी भएपछि असन्तुष्टि बनेको भारतले करिब छ महिना नाकाबन्दी लगाएको थियो ।