
काठमाडौं, २८ भदौ । दिवङ्गत पितृलाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडौंको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया (पितृ तीर्थ धाम) मा भक्तजनको भीड लागेको छ ।
भाद्रकृष्ण औंसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदादान र पिण्डदान गर्नाले २१ पुस्ता अघिदेखिका पितृहरु तर्दछन् भन्ने धार्मिक विश्वास छ । यही विश्वासका कारण आज बिहानैदेखि वैदिक सनातन हिन्दू धर्मावलम्बी र बौद्ध धर्मावलम्बीकोसमेत गोकर्णेश्वर मन्दिर परिसरमा भीड लागेको हो ।
गोकर्णमा भक्तजनको भीडका कारण आज बिहानैदेखि सुन्दरीजल –जोरपाटी र बागमतीको कोरिडोर भएर गुड्ने सवारीसाधनलाई निषेध गरिएको बौद्धस्थित ट्राफिक प्रहरी वृत्तले जनाएको छ ।
सत्ययुगमा ब्रह्माले नै स्थापना गरेको स्थल भएकाले यहाँ आई पितृलाई तर्पण, सिदादान र पिण्डदान गर्नाले अगति परेका पितृ पनि तर्दछन् भन्ने धार्मिक विश्वासका कारण पनि आज भाद्र कृष्ण औंसीका दिनमा यस मन्दिरमा भक्तजनको भीड बढ्ने गरेको मन्दिरका पूजारी जगदीश भट्ट जानकारी दिए ।
गोकर्णेश्वरमा आएका भक्तजन भने धार्मिकरुपमा धेरै महत्व भए पनि गोकर्णेश्वरमा गर्न सकिने जति राम्रो व्यवस्थापन हुन नसक्दा दु:ख पाइएकोे बताउँछन् ।
भक्तपुर चागुनारायणबाट आएकी दर्शनार्थी जया खत्री गाडीको असुविधाले मेलामा दु:ख पाइएको बताइन्।
“मन्दिर आसपासमा साँघुरो बाटो भएकाले गाडी चल्न नसकेको रहस्य मैले मन्दिरमै आएर मात्र थाहा पाएँ”,उनले भनिन् । मन्दिरक्षेत्रमा सार्वजनिक जग्गामा घर बनाइ बाटो साँघुरो भएकोले जोरपाटीदेखि हिँड्नुपर्दा समस्या भएको पनि जयाको गुनासो छ ।
नेपाल ट्रष्टको मातहतमा रहेको वन क्षेत्रभित्रको सडक खोलिदिएको भए पनि यो समस्या हुने थिएन तर यसतर्फ स्थानीय र सङ्घीय दुवै सरकारले बेवास्ता गरेकामा उनले आपत्ति जनाइन् ।















प्रतिक्रिया