
काठमाडौं, २५ भदौ । ६० किलो सुन तस्करी प्रकरणले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीहरू त्रसित भएका छन् । प्रकरणमा जोडिएको आशंकामा प्रहरीले कर्मचारीलाई धमाधम पक्राउ गर्न थालेपछि कर्मचारीहरू आन्दोलित भएका हुन् ।
आज भन्सारका कर्मचारीहरूले औषधीबाहेक अन्य सम्पूर्ण वस्तुको पास ठप्प पारेका छन् । आइतबार कर्मचारीहरुले प्रमुख भन्सार प्रशासकलाई पत्र लेख्दै विरोध कार्यक्रमबारे जानकारी गराएका थिए।
उनीहरुले कर्मचारीमाथि धरपकड गरी हिरासतमा लिने लगायतका कार्य अविलम्ब बन्द गर्नुपर्ने माग गरेका छन्। सुन प्रकरणमा हाल विमानस्थलका केही कर्मचारीहरु पक्राउ परेका छन् भने केहीविरूद्व पक्राउ पुर्जी जारी भएको छ ।
कर्मचारीहरूले उनीहरुलाई के कति कारणले गिरफ्तार गरेको होरु सो विषय कर्मचारी कार्यरत कार्यालयलाई समेत जानकारी नदिइएको बताएका छन् ।
अनुसन्धान गर्ने विभिन्न निकायले बिना प्रमाण, पक्राउ पूर्जी अनुमती नलिई कर्मचारीहरूलाई गिरफ्तार गर्ने, दु:ख दिने, हैरानी दिने कार्य गरेको उनीहरूको आरोप छ ।
कर्मचारीहरूले पक्राउ परेकाहरूलाई रिहा गर्नुपर्ने, दोषि प्रमाणित नहुँदै कर्मचारीको वैयक्तिक विवरण सार्वजनिक गर्ने काम अविलम्ब बन्द गरिनुपर्ने लगायत माग राखेका छन् ।















प्रतिक्रिया