७ कार्तिक २०८३, शनिबार

नेपालको चुच्चे नक्शाबारे एमाले महासचिव पोखरेलले गराए चीनको ध्यानाकर्षण

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ भदौ । चीन भ्रमणमा रहेका नेकपा एमालेका महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियनचाओबीच भेटवार्ता भएको छ ।

सोमबार बेइजिङमा महासचिव पोखरेल र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा महासचिव पोखरेलले नेपाल चुच्चे नक्शाबारे चीनलाई जानकारी गराएका छन् । पोखरेलले १८१६ मा भएको सुगौधी सन्धीले निर्धारण गरे अनुसार नेपालको नक्सा संसदबाट पास गरेर औपचारिक रुपमा जारी गरेको जानकारी गराउँदै त्यसले गर्दा नेपालले दबाब र अप्ठ्याराहरुको पनि सामना गर्नुपरेको बताएका छन् ।

चुच्चे नक्साको सन्दर्भमा नेपाललाई चीन सरकार र चिनियाँ कम्युिनष्ट पार्टीको साथ चाहिएको धारणा राखे । महासचिव पोखरेलले आफूहरू एक चीनको पक्षमा दृढ रहेको बताउँदै नेपालको भूमिबाट चीन विरोधी गतिबिधि गर्ने कामलाई अस्वीकार गर्ने स्पष्ट पारे । एमालेले असंग्लन परराष्ट्र नीति र पञ्चशीलको आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्यलाई कायम राख्न चाहेको पोखरेलले बताए ।

एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउनका लागि हामीले मिसन ग्रासरुट अभियान सञ्चालन सम्पन्न गरेको जानकारी गराउँदै उनले ग्रासरूट अभियानले पार्टीमा नयाँ सञ्चार र उत्साह प्रदान गरेको बताए । फेरि एमालेले मिसन २०८४ अभियान सुरु गरेको र २०८४ सालको आमनिर्वाचनमा एमालेले निर्वाचनमार्फत बहुमत प्राप्त गरेर स्थायी सरकार निर्माण गरी नेपाली जनताको विकास र समृद्धिको सपना पूरा गर्ने लक्ष्य राखेको पोखरेलले बताए ।

महासचिव पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण र चिनियाँ राष्ट्रपति तथा सीपीसीका महासचिव सी जिन्पिङको नेपाल भ्रमणका क्रममा भएका सहमति, सम्झौता छिटोभन्दा छिटो कार्यान्वयनको पक्षमा रहेको पनि लिउलाई जानकारी गराएका थिए । यस्तै, सीपीसीका विदेश विभाग प्रमुख लिउले एक चीन नीतिमा दृढ रहेकोमा एमालेलाई धन्यवाद दिए ।

एमाले र चिनियाँ कम्युनिष्ट पार्टीबीचको एकता घनिष्ठ र समुधुर रहेको बताउँदै लिउले यसलाई नयाँ उचाईमा लैजान चाहेको धारणा राखे । चीन र नेपालबीचको घनिष्ठ सम्बन्ध नचाहने शक्तिहरु रहेका बताउँदै लिउले राष्ट्रपति सीको नेपाल भ्रमण क्रममा भएका सहमतिहरु र केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला चीन भ्रमणको क्रममा भएका सहमति कार्यान्वयन होस् भन्नेमा चीन पनि दृढ रहेको स्पष्ट पारे । ति सहमति, सम्झौताहरु कार्यान्वयन छिटो गराउन अधिकतम् प्रयास हुने उनले बताए ।

राज्यस्तरमा रहेको घनिष्ठ सम्बन्धलाई जनस्तरमा बलियो बनाउन एमाले र सीपीसीको सम्बन्धलाई अझ बलियो बनाउनु पर्ने धारणा राख्दै उनले दुई पार्टीका उच्चस्तरीय नेताहरुको भ्रमणलाई अझ बढाउनु पर्नेमा जोड दिए ।