१ कार्तिक २०८३, आइतबार

मकवानपुरमा दार पकेट क्षेत्र घोषणा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २२ भदौ । मकवानपुरमा पहिलो पटक दार पकेट क्षेत्र घोषणा गरिएको छ । भीमफेदी गाउँपालिका–१ मा रहेको दरबारडाँडा सामुदायिक वन उपभोक्ता समूहको करिब दुई हेक्टर क्षेत्रफल जमिनमा एक हजार चार सय ५० वटा दारको बिरुवा रोप्ने लक्ष्य लिइएर पकेट क्षेत्र घोषणा गरिएको डिभिजन वन कार्यालय राप्तीका प्रमुख विष्णुप्रसाद आचार्यले बताए ।

डिभिजन वन कार्यालय राप्ती मनहरीको आयोजनामा भएको दार वृक्षरोपणअन्तर्गत पहिलो चरणमा आठ सय वटा विरुवा र दोस्रो चरणमा छ सय ५० वटा विरुवा रोप्ने कार्यक्रम रहेको आचार्यले बताए ।

बिहीबार बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञप्रसाद दाहाल र गाउँपालिकाका अध्यक्ष हिदम लामा उपस्थितिमा दार पकेट क्षेत्र घोषणा गरिएको हो । मकवानपुरको चिनारीका रूपमा रहेको दारको ठेकी लोप हुँदै गएपछि मकवानपुरको विभिन्न स्थानमा दारको वृक्षारोपण कार्यलाई डिभिजन वनले तीव्र पार्दै आइरहेको छ ।

मकवानपुरको पहिचान बोकेको दारको ठेकीलाई पुनःजीवन दिने उद्देश्यले दारको बिरुवा लगाउने अभियानमा लागिएको प्रमुख आचार्यले बताए । पछिल्लो समय दार लोपोन्मुख हुने अवस्थामा पुगेकाले पनि दार वृक्षरोपणमा सबै सामुदायिक वनकर्मीहरू लाग्नुपर्ने उनले बताए । यसअघि बकैया गाउँपालिका–१२ चपकीमा पनि एक हजार दारको विरुवा रोप्ने काम भइसकेको छ ।