१ कार्तिक २०८३, आइतबार

कञ्चनपुरको तिलाचौरमा बिसरती मेला

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोधारा चाँदनी (कञ्चपुर), २० भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरमा आज बिसरती मेला लाग्दैछ । बझाङवासीको प्रमुख पर्वका रूपमा रहेको बिसरती कञ्चनपुरमा पनि धुमधामका साथ मनाइन्छ । भगवती दुर्गा–भवानीले महिषासुरको बध गरेको खुसीयालीमा बझाङवासीले बिसरती पर्वको रूपमा मनाउने गर्दछन् ।

बझाङमा धुमधामले मनाइने यो पर्व पछिल्लो समय बसाइँसराइले कञ्चनपुरमा पनि मनाइँदै आएको छ । भदौ महिनामा मनाइने यो पर्व तीन दिनसम्म चल्ने गर्दछ । दुर्गा–भवानीले महिषासुर दानवलाई बध गरेको खुसीयालीमा बिसरती पर्व मनाउने चलन रहेको स्थानीय नारायण मिश्रले जानकारी दिए । “बडादसैँका बेला दुर्गा–भगवतीले महिषासुर दानवको बध गरेको किंवदन्ती रहे पनि बझाङ्गी समुदायले माघ १६, फागुन १६ र भदौ २० गतेलाई दुर्गा–भवानीले विशेष पूजा गरेर मनाउने गरेका छन्”, मिश्रले भने, “बसाइँ सरी यहाँ आएका समुदायले पनि यो पर्व धुमधामका साथ मनाउँछन् ।”

माघ १६ गते महिषासुरको छाती चिर्ने भन्दै सल्लाको काठको लाकुडी बनाएर मन्दिरको छेउमा गाड्ने चलन रहेको जानकारहरू बताउँछन् । फागुन १६ गते महिषासुरको टाउकाको भकुन्डो खेल्ने भन्दै गोरुको छालाको भकुन्डो बनाएर खेल्ने चलन छ ।

स्थानीय लालबहादुर थापाले दुर्गा र सुर्मादेवीले राक्षस महिषासुरसँगको लडाइँमा जित हासिल गरेको खुसीयालीमा यो पर्व मनाइँदै आएको बताए । “व्रतालु महिला र पुरुषले खडयात्री गरेर बिसरती मनाउँछन्”, थापाले भने, “परम्परादेखि मनाइँदै आएको पर्वलाई निरन्तरता दिँदै आएका छौँ, १८ भदौमा जाग्राम, १९ मा व्रत बस्ने र २० गते मन्दिरबाट फिल्डमा ल्याएर विर्सजन गरिन्छ ।” उनका अनुसार हरेक वर्ष १६ माघ, फागुन, २० जेठ र २० भदौमा राक्षसीसँगको विजेताको अवसरमा खुसीयाली मनाइन्छ ।

मेला धार्मिक पर्यटकीय हिसाबले महत्त्वपूर्ण रहेकाले यसको जगेर्ना गर्नुपर्ने स्थानीय मदनराज मिश्रले बताए । “धर्म, संस्कृति, कला एव परम्परा संरक्षणका लागि सबैले आफ्नो क्षेत्रबाट पहल गर्नुपर्छ”, उनले भने “मेलामा महिला–पुरुष देउडा खेल खेलेर रमाइलो गरिन्छ ।” मेलामा रातभर जाग्राम बसेर महिला तथा पुरुषले देउडा, ठाडी भाकालगायतका खेल खेल्ने गर्दछन् ।