– निर्मल अर्याल
नुवाकोट, १९ जेठ । महाभूकम्प पीडितहरुका लागि अस्थायी घर टहर निर्माण गर्ने अभियानमा जुट्नु भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल नेतृत्वको टोलीले नुवाकोटको महाकाली गाविसमा सोमबार साँझ सम्ममा ३४ वटा अस्थायी घर टहरा निर्माण गरेको छ ।
टोलीले जोखिम अवस्थामा रहेका ७ वटा घर भत्काएको टोलीमा रहेका नेविसंघ नेता सुशील भट्टले बताउनुभयो । इन्जिनियर तथा प्राविधिक सहित, अन्य स्वयंसेवक, नेविसंघ र तरुण दलका जिल्ला स्तरीय नेता र स्थानीय बासिन्दा गरी करिब डेढ सय जनाको सक्रियतामा अस्थायी घर टहरा निर्माण भएको हो ।
यसका लागि स्थानीय बासिन्दाले आवश्यक काठपात तथा बाँस उपलब्ध गराएका थिए भने दाता सनत अधिकारीले जस्तापाता उपलब्ध गराउनु भएको थियो । नुवाकोटका कांग्रेस नेता माधव अधिकारीबाट पनि यातायात प्रयोजनका लागि सहयोग प्राप्त भएको पौडेलले जानकारी दिनुभयो ।
सोही टोलीमा रहेका मनोहर क्याम्पसका इकाई सभापति निरञ्जन थापाको टिमले जोखिममा रहेको उर्लेनी गाविसस्थित सुन्दरा देवी निमाविको जिर्ण भवन भत्काएको थियो ।
प्रदीप पौडेल नेतृत्वको टोलीले यसअघि सिन्धुपाल्चोकको धुस्कुन गाविस स्थित खाकीलुङ, सल्लेकेपा, निगाले र भापरचौरमा ८४, गोर्खाको पालुङटारस्थित उपल्लो मालती गैरामा ५३ र रामछेपाको भीरपानीमा ३० वटा अस्थायी घर टहरा निर्माण गरिसकेको छ ।
स्वदेश तथा विदेशमा रहनु भएका आफना नातेदार तथा शुभचिन्तकको सहयोगमा पौडेलले महाभुकम्प पीडित जिल्लाहरुमा ७० लाख रुपैयाँ भन्दा बढीको राहत सामाग्री समेत वितरण गरिसक्नु भएको छ ।
नेविसंघका केन्द्रीय अध्यक्ष समेत रहिसक्नु भएका पौडेलले दाता, स्थानीय बासिन्दा तथा शुभचिन्तकको सहयोगमा महाभुकम्प पीडितहरुका लागि ५ सय अस्थायी घर टहर निर्माण गर्ने घोषणा गर्नु भएको थियो ।

















प्रतिक्रिया