
कास्की, १५ भदौ । समाजवादी मोर्चा नेपालको गण्डकी प्रदेश संयोजन समिति गठन गरिएको छ । पोखरामा शुक्रबार हुने प्रदेशस्तरीय सन्देश सभाको अघिल्लो दिन मोर्चामा आबद्ध पार्टीबाट तीन–तीन जना सदस्य रहने गरी प्रदेश समिति गठन गरिएको मोर्चाले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो ।
नेकपा (माओवादी केन्द्र)का सचिव एवं गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले पत्रकार सम्मेलनमा मोर्चाको प्रदेश समिति घोषणा गरे । मोर्चामा माओवादी केन्द्रबाट गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, ज्ञानमान गैरे र जगन्नाथ खनाल सदस्य छन् ।
नेकपा (एकीकृत समाजवादी)बाट केशवलाल श्रेष्ठ, श्रीनाथ बराल र प्रतापलाल श्रेष्ठ, जनता समाजवादी पार्टीबाट गोपाल गुरुङ, निर्मल जिसी र रमेश नेपाली मोर्चामा रहेका छन् ।
यसैगरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट राजन सी, दीपा सी र काजी सी रहेका छन् । सचिव पौडेलका अनुसार मोर्चा समितिको अध्यक्षता आलोपालो प्रणालीअन्तर्गत हाललाई माओवादी केन्द्रका प्रदेश अध्यक्ष गुरुङले गर्नेछन् ।
मोर्चाले प्रदेशका ११ वटै जिल्लामा हरेक पार्टीबाट दुई–दुई जनाको प्रतिनिधित्व हुने गरी जिल्ला संयोजन समिति पनि गठन गरिने जनाइएको छ । यसैगरी मोर्चाले आज शुक्रबार पोखरा सभागृहमा आयोजना गर्ने सन्देश सभाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।











प्रतिक्रिया