
काठमाडौं, १४ भदौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा मनाइने विभिन्न चाडपर्वहरूले नेपालीहरूबीचको आपसी प्रेम, सद्भाव र भातृत्वलाई अझै प्रगाढ बनाउने बताएकी छन् ।
जनैपूर्णिमा, रक्षा बन्धन र गाईजात्राको अवसरमा एक शुभकामना सन्देश व्यक्त गर्दै उनले फरक नाम र फरक महत्वका साथ मनाइने यी पर्वहरूको साझा लक्ष्य नेपाली-नेपालीबीचको आपसी सद्भावलाई थप बलियो बनाउने रहेको उल्लेख गरेकी छन् ।
पूर्वराष्ट्रपति भण्डारीले विविध संस्कृति र परम्पराले नेपालीहरुबीच आपसी प्रेम, सद्भाव र भ्रातृत्वलाई प्रगाढ बनाउने बताउँदै हाम्रा चाडपर्वहरूमा देश काल र परिस्थितिजन्य परिबन्धमा फाटिएका मनलाई पुनः जोड्ने विशेषता रहेको उल्लेख गरेकी छन् ।
‘फरक नाम र फरक महत्वका साथ मनाइने यी पर्वहरूको साझा लक्ष्य नेपाली-नेपालीबीचको आपसी सद्भावलाई थप बलियो बनाउने पनि हो । देश, काल र परिस्थितिजन्य परिबन्धमा फाटिएका मनलाई पुनः जोड्ने विशेषता हाम्रो चाडपर्वहरूमा रहेको छ । धर्म, संस्कृति, भाषा, भौगोलिक अवस्थितिको अनेकतालाई चिर्दै हाम्रा महान चाडपर्वहरूले विश्वभरि रहेका सम्पूर्ण नेपालीलाई एकतावद्ध गर्न सकुन् । सबैमा जनै पूर्णिमा, रक्षा बन्धन, गाईजात्राको हार्दिक शुभकामना ।’ पूर्वराष्ट्रपति भण्डारीले भनेकी छन् ।











प्रतिक्रिया