
ओखलढुंगा, १८ जेठ । नेकपा(एमाले)को भातृ संगठन अनेरास्ववियुका स्वयंसेवकहरुले ओखलढुङगा जिल्लाको विकट क्षेत्रमा पुगेर महाभूकम्पले ध्वस्त पारेका चारवटा विद्यालयको पुनःनिर्माण गरेका छन् ।
पार्टीको केन्द्रिय स्वयं सेवक अभियान अन्तर्गत अखिल अनुशासन आयोगका अध्यक्ष जीवन राईको नेतृत्वमा ओखलढुङगा पुगेको टोलीले कठिन परिश्रमपछि चारवटा विद्यालय पुनःनिर्माण गरेको हो ।
आयोग अध्यक्ष राईले दिएको जानकारी अनुसार उनीहरुले चारवटै विद्यालयहरु व्यवस्थापन समितिलाई हस्तान्तरण समेत गरिसकेका छन् । राई नेतृत्वको अखिल समुहले रांगादिप गाबिसमा रांगादिप माविको आठ कोठे भवन निर्माण गरेर सो विद्यालयको प्रधानाध्यापक नेत्रप्रसाद अधिकारीलाई हस्तान्तरण गरेका छन् ।
त्यस्तै महाभूकम्पकै कारण ध्वस्त बनेको श्रीचौर गाबिसस्थित भालुथुम्कामा कालिका उच्चमाविका तीन कोठे स्थायी भवन निर्माण सम्पन्न गरेर व्यवस्थापन समितिका अध्यक्ष प्रेम कुमार तामाङलाई हस्तान्तरण गरेका छन् । अखिल स्वयंसेवकहरुले सिंहदेवी निमाविको पाँच कोठे भवन र श्रीजंग निमावीको चार कोठे भवन समेत निर्माण गरेर हस्तान्तरण गरेका छन् ।

स्थानीय बासिन्दाहरुको समेत साथ सहयोगमा महाभूकम्पले ध्वस्त बनाएका विद्यालयहरुको पुनःनिर्माण गरिएको अनुशासन आयोगका अध्यक्ष राईले बताए । ‘महाभूकम्पले देशका सबै क्षेत्रलाई प्रभावित पारेको छ, त्यसमा पनि दुरगामी महत्व राख्ने शिक्षा क्षेत्रमा ठुलै नोक्सानी गरेको छ, विद्यार्थी अधिकारका लागि लड्ने विद्यार्थी संगठनका रुपमा यति दुर्गममा विद्यालय बनाउन आयौं ।’ राईले भने ।
उनको समुहमा केन्द्रिय सदस्य गिरेन्द्र बहादुर राई, अनुशासन आयोगका सदस्य महेश श्रेष्ठ, केन्द्रिय सम्पर्क बिभागका सचिव अशोक थापा, ओखलढुङगा अखिलका अध्यक्ष दिपक फुँयाल, युवा संघ ओखलढुङगाका अध्यक्ष राजन खत्री, ऋषिराम धमला, एटम बिद्रोही, सुवास ढुङगाना, उत्तर खड्का, गोपाल नेपाल लगाायतको सहभागिता रहेको थियो ।
अनुशासन आयोगका सदस्य महेश श्रेष्ठका अनुसार उनीहरु एक दिनको पैदल यात्रापछि विद्यालय भवन बनाएको क्षेत्रमा पुगेका थिए । ‘भिरको बाटो र चर्किएका डाँडाँहरुले आङ सिरिङ बनाउँथे ।’ यात्रालाई सम्झँदै श्रेष्ठले भने ।
काठमाडौं खाल्डो छाडेर दुरदराजमा बिरलै पुगेका सम्पर्क कमिटी सचिव अशोक थापाको अनुभव पनि त्यस्तै छ । उनी भन्छन–‘पहाडको बाटो, दुबैतिर भिर, ध्वजा फाटेका डाँडाँ थिए तर गाउँमा पुगेर विद्यालय बनाउन थालेपछि स्थानियको खुसि देखेर सबै पीँडा बिर्सिए ।’
जीवन राई नेतृत्वको टोलीले केहि स्थानीयका घरहरु समेत मर्मत गरिदिएको थियो ।

















प्रतिक्रिया