३० आश्विन २०८३, शुक्रबार

मनकामना केबुलकार एक हप्तापछि मात्रै खुल्ने, दैनिक ३० लाख घाटा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cabul-car– सन्दिप भट्ट

चितवन, १८ जेठ । वैशाख १२ गते आएको महाभूकम्प र २९ गते आएको पराकम्पनका कारण बन्द भएको नेपालको एक मात्र केबुलकार सञ्चालनमा आउन अझै एक हप्ता लाग्ने भएको छ ।

वैशाख १२ गते आएको शक्तिशाली भूकम्पका कारण बन्द भएको केबुलकार बीचमा तीन दिन खुलेर फेरि बन्द भएको थियो । महाभूकम्पपछि स्थिति सामान्य बन्दै गएपछि वैशाख २७ गतेदेखि सञ्चालनमा आएको केबुलकार वैशाख २९ गतेको ठूलो पराकम्पनबाट फेरि बन्द हुन पुग्यो ।

भूकम्पका कारण मनकामना मन्दिरमा पूजाआजा रोकिएका कारण केबुलकार बन्द गरिएको मनकामना केबुलकार दर्शन प्रालिका नायब महाप्रबन्धक डीएन कायस्थले बताए । मन्दिरमा दैनिक रुपमा पूजाआजा सुरु हुन थालेपछि केबुलकार सञ्चालन गरिने कायस्थले बताए ।

भूकम्पका कारण केबुलकामा कुनै क्षति नभएको भएपनि मन्दिर जीर्र्ण अवस्थामा पुगेको कारण केबुलकार सञ्चालन नगरिएको कायस्थले जानकारी दिए ।

केबुलकार सञ्चालनमा नआएपछि मनकामना दर्शनका लागि आएका यात्रुहरु केबुलकारको गेटमा पूजा गरेर फर्किने गरेका कायस्थले बताए । मनकामना दर्शनको लागि केबुलकार मार्फत दैनिक रुपमा तीन हजार भन्दा बढी दर्शनार्थीहरु आवत जावत गर्ने गरेका कायस्थले बताए ।

सामान्य दिनमा तीन हजार भक्तजनहरु केबुलकार मार्फत मनकामना दर्शन गर्न जाने गर्दथे कायस्थले भने, –शनिबार तथा बिदाको दिनमा पाँच हजार भन्दा धेरै भक्तजनहरु केबुलकार मार्फत पूजा गर्न जाने गरेका थिए ।

अहिले केबुलकार बन्द हुँदा दैनिक ३० लाख रुपैयाँसम्म घाटा परेको कायस्थले बताए । केबुलकार बन्द भएपछि आइतबारसम्म करिब पाँच करोड रुपैयाँ नोक्सान भएको कायस्थले जानकारी दिए । केबुलकार मार्फत वार्षिक रुपमा १० लाख भक्तजनहरु मनकामना दर्शनको लागि पुग्ने गरेका कायस्थले बताए ।

केबुलकारदेखि मनकामनासम्म साढे तीन किलोमिटरको बाटोमा २० वटा टावरको सहायताले केबुलकार सञ्चालन गरिएको छ । केबुलकार चालु हुँदा ३१ वटा डीब्बाबाट मानिस ओसार्ने गरिन्छ भने सामान बोक्नको लागि तीन वटा डब्बा राखिएको छ ।