
काठमाडौं, २६ साउन । सुन तस्करी प्रकरणमा दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।
राजस्व अनुसन्धान विभाग तथा भन्सार विभागको निगरानीमा रहेका ती दुईजनालाई शुक्रबार बिहान पौने ८ बजे त्रिभुवन विमानस्थल सुरक्षार्थ खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
चीन जान लाग्दा अध्यागमनबाट उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा लिजिया लिन र लिउफुयान रहेको बताइएको छ । योसँगै सुन तस्करी प्रकरणमा १९ जना पक्राउ परेका छन् ।
राजस्व अनुसन्धान विभागले गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’मा हालेर ल्याइएको अन्दाजी एक सय किलो सुन बरामद गरेको थियो ।
विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको सुन विभागको टोलीले बरामद गरेको थियो । अहिले सुन तस्करी प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरिरहेको छ ।











प्रतिक्रिया