
काठमाडौं, ९ साउन । चलचित्र विकास बोर्डले २०७९/८० मा रिलिज भएका नेपाली र विदेशी चलचित्र र हाल प्रदर्शनमा रहेका चलचित्रको हालसम्मको आम्दानी सार्वजनिक गरेको छ।
जसमा केही चलचित्रले उच्च आम्दानी गर्न सफल भएका छन् भने केही चलचित्रले एकजनाले खाजा खाने रकमसमेत उठाउन सकेनन्। यसमा हामी तपाईँलाई जानकारी गराउँछौँ गत आर्थिक वर्षमा नेपालमा सबैभन्दा धेरै कमाई गर्ने पाँच चलचित्रको बारेमा ।
आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै कमाई गर्ने अग्रस्थानमा रहेको छ चलचित्र ‘छक्कापञ्जा ४’ । ‘छक्कापञ्जा ४’ ले ६ लाख २९ हजार ७ सय ५० टिकट बिक्रीबाट कुल १७ करोड ५२ लाख ९९ हजार १ सय ५९ ग्रस कलेक्सन गरेको छ ।
यस्तै, दोस्रोमा रहेको छ ‘जारी’ । ‘जारी’ले ६ लाख १९ हजार २ सय २१ टिकट बिक्रीबाट हालसम्म १७ करोड १७ लाख ९५ हजार ९८ रूपैँया बढी ग्रस कलेक्सन गरेको छ । यो चलचित्रले एकसय दिन पूरा गरेर अझै पनि केही हलहरूमा चलिरहेको छ ।
यस्तै तेस्रो स्थानमा छ ‘प्रेम गीत’ ३ । यो चलचित्रले सात करोड ७० लाख ३५ हजार ५ सय ५८ रूपैँया बढी कमाई गरेको छ । यही चलचित्र हिन्दी डब भने सर्वाधिक कमाई गर्ने चलचित्रको नवौँ नम्बरमा परेको छ ।
यस्तै चौथो स्थानमा रहेको चलचित्र हो ‘महापुरूष’ । यो चलचित्रले सात करोड ३८ लाख ९१ हजार ९ सय २० रूपैयाँ बढी कमाइ गरेको छ ।
यस्तै, पाचौँ स्थानमा रहेको चलचित्र हो नेपाली चलचित्र दुई नम्बरी । यो चलचित्रले तीन करोड ८४ लाख ७५ हजार ७ सय ७० रूपैयाँ बढी कमाई गर्न सफल भएको हो ।















प्रतिक्रिया