
काठमाडौं, १ साउन । प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीले ६ लाख रुपैयाँ बराबरको पत्रकार कल्याणकारी अक्षयकोष स्थापना गर्ने भएको छ ।
२२ असारमा बसेको सचिवालय बैठकले ६ लाख रुपैयाँ बराबरको पत्रकार कल्याणकारी अक्षयकोष स्थापना गर्ने र संकट तथा विपद्मा परेका बेला पत्रकारलाई सहयोग गर्ने निर्णय गरेको अध्यक्ष शरद सापकोटाले जानकारी दिए । उनका अनुसार यो कोषमा आगामी ५ वर्षमा ५० लाख रुपैयाँ जम्मा गर्ने लक्ष्य लिइएको छ ।
यसैगरी, बैठकले २ लाख रकमको पुरस्कार अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ । क्रियाशील र संगठनका कर्मठ सदस्यलाई हरेक वर्ष प्रोत्साहन स्वरुप पुरस्कृत गर्न अक्षयकोष स्थापना गरिएको अध्यक्ष सापकोटाले बताए । यस कोषमा आगामी ५ वर्षमा २० लाख रुपैयाँ जम्मा गर्ने लक्ष्य लिइएको छ । दुवै कोष सञ्चालन कार्यविधि मार्फत हुने अध्यक्ष सापकोटाको भनाइ छ ।
सचिवालय बैठकले चितवन जिल्ला शाखाको निर्माणधीन कार्यालय भवन निर्माणमा सहयोग स्वरुप एक लाख एघार हजार एक सय एघार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।
बैठकले कमलादीमा संगठनको कार्यालय सञ्चालन गर्ने, नयाँ जिम्मेवारी तोक्ने, प्रकाशनका कामहरु गर्ने लगायतका महत्वपूर्ण निर्णयहरु गरेको बताइएको छ ।















प्रतिक्रिया