२८ कार्तिक २०८३, शनिबार

तोसिमाले मागिन् स्वास्थ्यमन्त्री मोहन बस्नेतको राजीनामा

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको राजीनामा मागेकी छन् ।

मन्त्री बस्नेतले दरबन्दी र कार्यक्षेत्रको माग गर्दै आएका स्वास्थ्यकर्मीहरूलाई ‘आत्महत्या गर्ने भए गर्नुस् बरु मै डोरी दिउँला, सचिवको कोठामा गारो भए मन्त्रीकै गेटमा झुन्डिए हुन्छ ।’ भन्ने अभिव्यक्ति दिएपछि उनले राजीनामा मागेकी हुन् ।

“न्युन पारिश्रमिकमा दिन रात बिरामीहरुको सेवामा जीवन अर्पिएका स्वास्थ्यकर्मीले स्वास्थ्य मन्त्रालयसँग दरबन्दीको र आफ्नो कार्यक्षेत्र उचित व्यवस्थापनको मद्दत माग्न जाँदा, मलाई त्याहाँ काम गर्न गार्‍हो भइसक्यो आत्महत्या गरुँ जस्तो भइसक्यो भनी हार गुहार गर्न जाँदा त्यसरी… ‘आत्महत्या गर्ने भए गर्नुस् बरु मै डोरी दिउँला, सचिवको कोठामा गारो भए मन्त्रीकै गेटमा झुण्डिए हुन्छ’ यस्तो तुच्छ निकृष्ट आपत्तिजनक अभिव्यक्ति दिन मिल्छ ??” सांसद कार्कीले सामाजिक सञ्जालमा लेख्दै भनेकी छन्, “स्वास्थ्य क्षेत्रको अभिभावक भएर तमाम देश भरीका स्वास्थ्यकर्मीहरुको श्रम पसिना र उनीहरुको दु:ख त्यागको सम्मानजनक सम्बोधन गर्नुसाटो उल्टै यसरी निरुत्साहित गर्ने र आत्महत्या दुरुत्साहन गर्ने किसिमको भनाइ स्वय्म् स्वास्थ्य मन्त्रीबाटै आउनु खेदजनक मात्र हैन सम्पूर्ण स्वास्थ्यकर्मी र राष्ट्रलाई नै घातक हुन सक्छ त्यसैले नैतिकताको आधारमा स्वास्थ मन्त्री महोन बहादुर बस्नेतले तत्कालै राजीनामा दिनुपर्छ ।”

उनले सम्पूर्ण सरोकारवाला निकायहरुको ध्यानाकर्षण होस् भन्दै स्वास्थ्य मन्त्री बस्नेतले दिएको अभिव्यक्तिको भिडियो सामाजिक सञ्जालमा सेयर गरेकी छन् ।