
काठमाडौं, २५ असार । राजधानीमा जारी सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई पराजित गरेको छ ।
सोमबार भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्ड हलमा भएको खेलमा आर्मी २५–१९, २६–२४ र ३३–३१ ले विजयी भएको हो ।
तेस्रो सेटमा आर्मी २३–२४ को अवस्थामा गण्डकीका खेलाडीले प्रहार गरेको स्पाइक आउट भएको भन्दै २४–२४ को बराबरी भएको थियो । तर गण्डकीका खेलाडी ब्लकको समयमा आर्मीका खेलाडीलाई लागेर गएको भन्दै विवाद भएको थियो ।
विवादकाबीच समर्थकले बोतल प्रहार गरेपछि आर्मीका समर्थक तथा खेलाडीहरू पनि दर्शकदीर्घामा नै पुगेका थिए । लामो विवादपछि प्रहरीको हस्तक्षेपमा विवाद साम्य भएको थियो ।
त्यस्तै सोमबार नै भएको अर्को खेलमा हेल्प नेपालले दावाली मिलन क्लबमाथि सोझो सोटमा जित हासिल गरेको छ । हेल्प नेपालले दावाली मिलन क्लबमाथि २५–१७, २५–२२ र २५–२१ को सेटमा जित हात पारेको हो । त्यस्तै महिलातर्फ नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–० ले पराजित गर्दै थप ३ अंक जोडेको छ । पुलिसले एक तर्फी खेलमा आर्मीलाई २५–१८, २५–१२, २५–१८ ले पराजित गरेको हो ।
सोमाबार नै भएको प्रतियोगिताको महिलातर्फको अर्को खेलमा एपीएफले गण्डकी प्रदेश भलिबल क्लबलाई २५–१२, २५–८, २५–८ को सोझो सेटमा पराजित गरेको छ । यस्तै सोमबार नै सम्पन्न महिला तर्फको अर्को खेलमा होङ्गवान्जी न्यु डायमन्ड क्लबले एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो । डायमन्डले २५–१७, २५–१२, २५–१२ को जित निकालेको हो ।















प्रतिक्रिया