काठमाडौँ, १५ जेठ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्राकृतिक प्रकोपमा परेका जनतालाई प्रभावकारी राहत, पुनःस्थापना र पुनःनिर्माणका लागि दलहरुबीच बलियो एकताको आवश्यकता रहेको बताउनुभएको छ ।
सोलुखुम्बुमा निर्माण गर्न लागिएको किरात गणतन्त्र टावरका बारेमा जानकारी दिन किरात गणतन्त्र टावर फाउन्डेसनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय एकताको सरकार भनेको वर्तमान सरकारको विस्तार नभएको बताउनुभयो ।
उहाँले विपत्तिमा परेका जनतालाई तत्काल राहत दिन र पुनःनिर्माण कार्यमा सरकार चुकेको भन्दै उहाँले सबै दललाई विश्वासमा लिएर अगाडि बढ्नुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो-‘सुशीलजीले नेतृत्व लिएको सरकार राहत दिन र पुनःनिर्माण कार्यमा चुक्यो, अब नेतृत्व नयाँ व्यक्तिले लिनुपर्छ ।’
विपत्तिमा परेका जनतालाई सहयोग प्रदान गर्न सत्तापक्ष र प्रतिपक्ष नभनी लागे पनि सरकारी संयन्त्र र मातहतका निकायको कार्यशैली परम्परागत रहेको उहाँको भनाइ थियो ।
नयाँ सोच र दृष्टिकोणसहितको राष्ट्रिय एकता अहिलेको आवश्यकता भए पनि मन्त्रिमण्डल विस्तारको कुनै अर्थ छैन् भन्नुभयो । ‘‘मन्त्रिमण्डल हेरफेर गर्ने गरी विस्तार गरेर देशको समस्या समाधान हुँदैन’, अध्यक्ष दाहालले भन्नुभयो ‘‘त्यसको लागि हाल देखिएको विपद्को सामना गर्ने दीर्घकालीन योजना, कार्यक्रम र इच्छा शक्तिसहित राष्ट्रिय एकता अहिलेको आवश्यकता हो ।’












प्रतिक्रिया