
काठमाडौं, २५ असार । सस्तो मूल्यमा डलर साट्ने लोभमा दोलखामा एकजनाको नगद १० लाख रुपैयाँ ठगी भएको छ ।
हिजो आइतबार दिउँसो दोलखाको भीमेश्वर नगरपालिका-३ स्थित अपर तामाकोशी सडकमा रामेछाप गोकुल गंगा गाउँपालिका-२ का शेरबहादुर नकर्मीको १० लाख रुपैयाँ ठगी भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार भीमेश्वर-३ मा डेरा बस्दै आएका नकर्मीलाई सस्तो मूल्यमा डलर साटिदिने भन्दै अपरिचित व्यक्तिले बोलाएका थिए । तर अपरिचित व्यक्तिले डलर नसाटी १० लाख रुपैयाँ लिई फरार भएपछि पीडित नकर्मी साँझ प्रहरीकोमा पुगेका थिए ।
नकर्मीले दिएको हुलिया अनुसार प्रहरीले चेक पोइन्ट खडा गरी अपरिचित व्यक्तिको खोजी कार्य र थप अनुसन्धान कार्य भइरहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।











प्रतिक्रिया