
काठमाडौं, २३ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा कमजोर शक्तिले शासन गर्ने अवस्था अन्त्य गरेर थोरै संख्याको बलियो दल आवश्यक रहेको बताएका छन् ।
एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चद्वारा शनिबार काठमाडौंमा आयोजित अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले धेरै दल हुँदा मुलुकका बाह्य हस्तक्षेप बढेको, मुलुकको अवस्था सुधार हुन नसकेको भन्दै धेरै भन्दा थौरै तर बलियो दल आवश्यक रहेको बताएका हुन् ।
अहिले प्रतिनिधिसभामा कांग्रेस र एमाले ठूला दलका रुपमा रहेपनि कमजोर शक्तिले मुलुकको नेतृत्व गरेको र समाजमा अहिले पनि धुवीकरण हुन नसकेको उनले बताए । पोखरलेलले कमजोर शक्तिले शासन गर्ने र हरपल नीतिगत सम्झौता गर्ने अवस्थाबाट मुलुकलाई बाहिर निकाल्नुपर्ने जिकिर गरे ।
उनले अहिले एमालेलाई जनतामाझ जान नदिनका लागि केन्द्र र प्रदेशमा १० दल मिलेर सरकार बनाएको तर्क गरे । अहिले एमाले एक्लिएको नभई जनतामा जान डराउनेहरू एमालेसंग डराएर गठबन्धन बनाउन बाध्य भएको उनको भनाइ छ ।
उनले निश्चित व्यापारिक घरानाहरुलाई राखेर करका दर हेरफेर गरेको र यसले मुलुकको अर्थतन्त्रमा असर परेको उल्लेख गरे । महासचिव पोखरेलले समृद्ध नेपाल सुखी नेपालीको नारालाई एमालेले मात्रै पूरा गर्न सक्ने बताए ।















प्रतिक्रिया