
मकवानपुर, २३ असार । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी–३ नयाँबस्ती डिपाट गाउँमा दुई ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ ।
गएराति हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशा तर्फबाट आउँदै गरेको ना ६ ख ६३१ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीका अनुसार दुर्घटनापछि दुवै ट्रकमा आगलागी भएको छ । हेटौंडा उपमहानगरको २ वटा दमकलले आगो निभाउने कार्य गरिरहेको उनले बताए ।

दुवै ट्रक जलेर पूर्णरुपमा नष्ट भएको छ ।
ट्रकमा सवार चितवन राप्ती–३ बस्ने अन्दाजी ३५ वर्षीय विवेक तमाङ र मकवानपुरको मनहरी–३ बस्ने अन्दाजी ३२ वर्षीय अर्जुन कुमार प्रजा घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि भरतपुर पठाइएको छ ।
प्रहरीका अनुसार दुर्घटनापछि अवरुद्ध भएको राजमार्ग एकतर्फी सूचारु भएको छ ।











प्रतिक्रिया