काठमाडौँ, १५ जेठ । संरचना निर्माणका क्षेत्रमा क्रियाशील विभिन्न देशका इन्जिनियरको समूह (ग्लोबल टिम अफ स्ट्रक्चरल इन्जिनियर्स)ले नेपालमा भवन निर्माण आचारसंहिता कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपालमा भूकम्पपश्चात्को क्षतिग्रस्त संरचना सम्बन्धमा अध्ययन गर्न आएको अमेरिका, न्युजिल्यान्ड, अस्ट्रेलियालगायतका देशका इन्जिनियरको समूहले भवन निर्माण अचारसंहिता कडाइका साथ लागू हुन नसक्नु, घर तथा भवन निर्माणका क्रममा माटोको परीक्षण नहुनुलगायतका कारणबाट भूकम्पले धेरै क्षति पु¥याएको निष्कर्ष निकालेको छ ।
ग्लोबल फेयरनेस इन्टिएटिभ(जिएफआइ)द्वारा आज यहाँ आयोजित अन्तक्र्रियामा जिएफआइका राष्ट्रिय निर्देशक होमराज आचार्यले विदेशी इन्जिनियरको समूहले देशका विभिन्न प्रभावित स्थानमा स्थलगत रुपमा गरेको भौतिक संरचनाको क्षतिको अवलोेकनपश्चात् अबको पुनःनिर्माणमा भौगालिक अवस्थितिअनुसारको भवन निर्माण आचारसंहिता तयार गरी त्यसलाई कडाइका साथ लागू गर्नुपर्ने सुझाव दिएको बताउनुभयो ।
नेपालमा आएको उक्त समूहले यसअघि न्युजिल्यान्ड, हाइटीलगायतका स्थानमा पनि भएको भौतिक क्षतिबारे अध्ययन गरेको र त्यहाँको अनुभवसमेतका आधारमा यहाँको पुनःनिर्माणका लागि महत्वपूर्ण सुझाव प्रस्तुत गरेको उहाँले जानकारी गराउनुभयो ।
कार्यक्रममा केन ओ डेलले भन्नुभयो, “सुरक्षित भवन निर्माणका लागि त्यसको जगैदेखि संरचना बलियो बनाउनुपर्छ । संरचना बलियो बनाउन माटोको परीक्षणलगायतका कुरालाई पनि ध्यान दिनु आवश्यक छ । सरकारले भवन निर्माणका लागि भौगोलिक अवस्थितिअनुसारको भवन निर्माण आचारसंहिता निर्माण गरी त्यसलाई कडाइका साथ कार्यान्वयनमा ल्याउनुपर्छ ।”
सोन्नी फिटेले ग्रामीण क्षेत्रका क्षतिग्रस्त घर पनि कमजोर संरचनामा निर्माण गरिएका कारण अधिकांश भत्केका कारण अब गरिने निर्माणमा संरचना बलियो बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।
जासोन लङ्घमले क्षतिग्रस्त संरचनामध्ये केही संरचना पूर्णरुपमा ध्वस्त भएका कारण तिनीहरुकै पूर्णरुपमा नै पुनःनिर्माण र धेरै संरचना आंशिक रुपमा क्षतिग्रस्त भएका कारण तिनीहरुको पुनःनिर्माण एवम् मर्मतका लागि दक्ष प्राविधिकको सल्लाह लिनुपर्ने बताउनुभयो ।
ऐतिहासिक तथा प्राचीन सम्पदाको पुनःनिर्माणका लागि परम्परागत निर्माण पद्धतिका साथै आधुनिक वैज्ञानिक पद्धतिसमेतको प्रयोग गरी तिनीहरुलाई पूर्ववत् स्वरुपमा निर्माण गर्नुपर्ने विज्ञहरुको सुझाव रहेको छ । रासस












प्रतिक्रिया