
काठमाडौं, २२ असार । प्रतिनिधि सभाको बैठक आज शुक्रबार बस्दैछ । अस्ति बुधबार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सहितको दलहरुको अवरोध पछि स्थगित बैठक आज बस्न लागेको हो । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा अपरान्ह ३ बजे बस्नेछ । तर आजको बैठक पनि अवरोध हुने देखिएको छ ।
केहि दिन अघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै भारतले नेपालको प्रधानमन्त्री बनाउने र भारतीय नागरिक प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली गएको अभिव्यक्ति दिएपछि एमालेले प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै बैठक अवरुद्ध गरेको हो ।
एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग समेत गर्दै संघीय संसदको दुवै सदन अवरुद्ध गरेको हो । प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने एमालेको अडान छ । एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै हिजो बसेको राष्ट्रिय सभा बैठक पनि अवरुद्ध गरेको थियो ।
हिजो बिहीबार बैठक सुरु भए लगत्तै सांसद भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने भन्दै बैठक अघि बढ्न नसक्ने जानकारी गराएका थिए ।
बैठक अवरुद्ध भएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बैठक शुक्रबारसम्मका लागि स्थगित गरेका थिए । राष्ट्रिय सभा बैठक पनि आज शुक्रबार दिउँसो १२ बजेर २९ मिनेटमा बस्दैछ ।
यता, सत्ता गठबन्धनका दलहरुले भने प्रधानमन्त्रीले राजीनामा दिन नपर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध भएपछि हिजो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले प्रधानमन्त्रीले राजीनामा दिन नपर्ने निष्कर्ष निकालेको हो ।
बैठकले प्रधानमन्त्रीले राजीनामा नदिइ संसद्को फेस गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।











प्रतिक्रिया