
काठमाडौं, २१ असार । सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्ति गलत भएको बताएका छन् ।
बिहीबार बिहान सामाजिक सञ्जालमा लेख्दै शर्माले आफ्नो अभिव्यक्तिको गम्भीर अर्थ र असर हुनसक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती भएको उल्लेख गरेका छन् ।
‘नेपालको प्रधानमन्त्री नेपालको संसदले चयन गर्दछ र गर्ने हो । मित्र रास्ट्रहरुलाई मित्रताकै सिमामा राख्ने कर्तव्य मुलत प्रधानमन्त्रीकै हो । आफ्नो अभिव्यक्तिको गम्भीर अर्थ र असर हुनसक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती हो ।’ महामन्त्री शर्माले भनेका छन्, ‘प्रधानमन्त्रीले गलत बोल्दा या गलत कार्य गर्दा आलोचना गर्ने र प्रश्न उठाउने दायित्व हरेक सांसदको हुन्छ । सत्तारूढले नै प्रश्न गरेका छौं । प्रतिपक्षको त मुल कर्तव्यनै हो !’

प्रधानमन्त्री प्रचण्डले भारतले नेपालको प्रधानमन्त्री बनाउने आसयको अभिव्यक्ति दिएपछि उनको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ । प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिकै कारण बुधबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको अवरुद्ध भएको थियो ।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गर्दै बैठक अवरुद्ध गरेको हो ।
प्रधानमन्त्री प्रचण्डले एक पुस्तक विमोचन कार्यक्रममा भारतीय नागरिक प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली गएको बताएका थिए ।
प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिपछि उनको चौतर्फी आलोचना भइरहेको छ भने प्रधानमन्त्रीको अभिव्यक्तिको विषयमा सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेको छ ।











प्रतिक्रिया