१६ कार्तिक २०८३, सोमबार

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवसः प्राकृतिक विपत्तिमा पनि सगरमाथाप्रतिको आकर्षण घटेन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sagarmatha-Himalकाठमाडौँ, १५ जेठ । विनाशकारी भूकम्पको विपत्तिले मुलुकलाई प्रभावित बनाइरहँदा विश्वको सर्वोच्च शिखर सगरमाथा प्रतिको आकर्षण उत्तिकै छ ।

पर्वतारोहणका लागि विश्वको उत्कृष्ट गन्तव्यका रुपमा रहेको सगरमाथाको चुचुरोमा मानव पाइला टेकेको आज ६२ वर्ष पुरा भएको छ । नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एड्मन्ड हिलारीले सर्वप्रथम सन् १९५३ मे २९ तारिख अर्थात आजकै दिन आठ हजार ८४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा पुगी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिएका थिए । सो घटनाले विश्वभर नै ठूलो चर्चा पायो र नेपाल सगरमाथाको देश भनेर संसारभर चिनियो ।

सोही ऐतिहासिक घटनाको स्मरण गर्दै मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रूपमा नेपाल र विदेशमा समेत विभिन्न कार्यक्रमका साथ उत्साहपूर्वक मनाउने गरिन्छ ।

नेपालमा सन् २००८ देखि अन्तराष्ट्रिय सगरमाथा दिवस भब्य रुपमा मनाउन सुरु गरिएको हो । सोही वर्षको जनवरी ११ मा प्रथम विदेशी आरोही सर एड्मन्ड हिलारीको मृत्यु भएपछि पर्यटन क्षेत्रमा दुबै आरोहीका योगदानको सम्झनास्वरुप दिवस मनाउन थालिएको हो । यो आठौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस हो । पहिलो नेपाली आरोही तेन्जिङ नोर्गे शेपाको सन् १९८७ मा निधन भएको थियो ।

अघिल्लो वर्ष भव्यरुपमा दिवस मनाइएको भएपनि यो वर्ष भूकम्पको विपत्तिले गर्दा सामान्य कार्यक्रम गरी मनाइनेछ । गत वैशाख १२ गते गएको भूकम्पले सगरमाथाको आधार शिविरमा पहिरो जाँदा १८ जना आरोहीको मृत्यु भएको थियो भने ७१ जना घाइते भएका थिए ।
अघिल्लो वर्ष वैशाख ५ गते सगरमाथाको आधार शिविर र क्याम्प एकको बीचमा पाँच हजार ९०० मिटर उचाइमा हिमपहिरो जाँदा १६ आरोहीको मृत्यु भएको थियो । धेरै घाइतेलाई उद्धार गरिएको थियो ।

सगरमाथामा पटक पटकको प्राकृतिक विपत्तिले निकै ठूलो नोक्सानी बेहोर्नुप¥यो । विभिन्न प्राकृतिक विपत्तिको कुनै प्रवाह नगरी साहसिक आरोहीले आफ्नो आरोहणलाई अघि बढाएकै थिए । विडम्बना हालैको विनाशकारी भूकम्पले सगरमाथाको आइसफलको बाटो बिग्रिएपछि मर्मत गर्न केही समय लाग्ने भएकाले तत्कालका लागि आरोहण स्थगित गरियो ।

नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का अध्यक्ष आङछिरिङ शेर्पाका अनुसार यो याममा ३४७ विदेशी पर्यटकले आरोहण अनुमति लिएका थिए । अघिल्लो पटक ३३४ जनाले अनुमति लिएका थिए । यसमा करिब ५०० नेपाली आरोही थिए ।

सन् २०१४ र २०१५ को यो याममा सगरमाथाको पुरै आरोहण रोकियो जसले गर्दा राज्यले अर्बौ रुपियाँको राज्यस्व गुमायो । एक याम मात्रै आरोहण रोकिदा झण्डै एक अर्बको क्षति हुने अध्यक्ष शेर्पाले बताउनुहुन्छ ।

हालसम्म सात हजार ४०० को हाराहारीमा स्वदेशी तथा विदेशी आरोहीले सगरमाथा आरोहण गरिसकेका छन् । तीमध्ये सबैभन्दा बढी करिब १९०० नेपालीले आरोहण गरेका छन् । आरोही आक्पा शेर्पाले सबैभन्दा बढी २१ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको छ । सगरमाथामा आरोहण गर्ने विदेशी आरोहीमध्ये चीन र अमेरिकाका बढी छन् ।

भूकम्पले देशका प्रख्यात पर्वतीय क्षेत्रमा क्षति पु¥याएको छ, लाङटाङ, मनास्लु, रोलवालिङजस्ता पदयात्रा क्षेत्रका ट्रेल बिग्रिएकाले केही निरासा ल्याएपनि सगरमाथा र पदयात्राप्रतिको पर्यटकको आकर्षण बढ्दै गएको अध्यक्ष शेर्पाको भनाई रहेको छ ।

उहाँका अनुसार क्षतिग्रस्त पदयात्रा क्षेत्रमा बाटो निर्माणको काम सुरु भइसकेको छ । लाङटाङ, रोलवालिङ, गणेश हिमाल क्षेत्रमा काम सुरु भएको र एक महिनाभित्र पदयात्रा सञ्चालनमा ल्याइनेछ । विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रलगायतका ट्रेकिङ रुटहरू सुरक्षित रहेकाले ती क्षेत्रहरूमा पर्यटन प्रवद्र्धनको सम्भावना छ ।

दिवसका सन्दर्भमा भूकम्पले हानी गरेको पर्यटनलाई कसरी पहिलाकै अवस्थामा फर्काउन सकिन्छ भन्नेबारे पर्यटन प्रवद्र्धनसँग सम्बन्धित विभिन्न निजी क्षेत्रका व्यावसायिक संस्थाको सहकार्यमा सरकारले आज एक अन्तरक्रियात्मक कार्यक्रम गर्दैछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले भूकम्पको विपत्तिले भयवित बनेको अवस्थामा सामान्य कार्यक्रम गरी अन्तराट्रिय सगरमाथा दिवस मनाइने र यसबाट नेपालको पर्यटनलाई सामान्यीकरण गरेर पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । रासस