२९ आश्विन २०८३, बिहिबार

किसानलाई भैँसी वितरण

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असार । चितवनको रत्ननगर नगरपालिकाले व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न अनुदानमा भैँसी वितरण गरेको छ ।

रत्ननगर नगरपालिका वडा नं ३ का १६ किसानलाई सोमबार ५० प्रतिशत अनुदानमा ३३ भैँसी वितरण गरिएको हो । किसानलाई व्यावसायिक बनाउँदै दूध उत्पादन वृद्धि गर्न गोठ सुधारका कार्यक्रमसँगै दुधालु भैँसी वितरण गरिएको पशु विकास अधिकृत शालिग्राम पौडेलले जानकारी दिए। उनले भैँसीसँगै किसानलाई चापाकटर, पानी तान्ने मोटर, ठेलागडा र औषधि समेत वितरण गरिएको बताए। चार जनालाई चापाकटर, एक जनालाई ठेलागाडा, दुई जनालाई पानी तान्ने मोटर, १६ किसानलाई औषधि वितरण गरिएको छ ।

अधिकृत पौडेलका अनुसार नगरमा सङ्घीय सरकारको सहयोगमा भैँसी पकेट क्षेत्र सञ्चालन गरिएको छ । पकेट क्षेत्र सञ्चालनका लागि साइराम पशुपालन फार्म समूह गठन गरी काम गरिएको छ । समूहमा रहेका १६ किसानले गोठमा कम्तीमा एक सयवटा भैँसी र दैनिक एक हजार लिटर दूध उत्पादन गर्नुपर्ने हुन्छ ।

पकेट क्षेत्रका १६ किसानको गोठ निर्माण तथा मर्मतको काम गरिएको उनले जानकारी दिए। कार्यक्रम सञ्चालनपश्चात पशुपालन क्षेत्रमा लाग्ने किसान उत्साहित भएको उनको भनाइ छ ।

जीविकोपार्जनका लागि विदेश जानुभन्दा गाउँमै कृषि क्षेत्रमा लाग्न अभिप्रेरित गर्न यस्ता कार्यक्रमले सघाउने रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताए । उनले किसानलाई दिने अनुदान र उनीहरूले गरेको उत्पादनको बजारीकरणका लागि पालिकाले निरन्तर सहयोग गरिरहेको जानकारी दिए ।