
काभ्रे, १० असार । काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८०/०८१ को लागि कूल ६० करोड ६९ लाख ४० हजार तीनसय ३९ रुपैयाँको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
आइतबार गाउँपालिकाको १३ औँ गाउँसभामा बजेट प्रस्तुत गरिएको हो । जसमा प्रदेश तथा संघ सरकारको सहयोग तथा समन्वयमा पालिकालाई २२ करोड ८४ लाख ६८ हजार बजेट प्राप्त भएको गाउँपालिकाकी उपाध्यक्ष तारा राना तिमल्सिनाले जानकारी दिइन् ।
बजेटमा महिला सशक्तिकरण केन्द्रीत कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको छ । बजेट कार्यक्रमा गाउँपालिकालाई स्मार्ट भिलेजको रूपमा विकास गर्न निजी क्षेत्र, संघीय सरकार तथा प्रदेश सरकारसँग समन्वय गरिने उल्लेख गरिएको छ ।
स्मार्ट भिलेजको अवधारणा अन्तर्गत शिक्षा, स्वास्थ्य, सडक, कृषि, पर्यटन सबैलाई स्मार्ट तवरले अगाडि बढाउने योजना रहेको उपाध्यक्ष तिमल्सिनाले जानकारी दिइन् ।
यस्तै, सामाजिक विकास तथा समावेशीकरण सम्बन्धी नीति अन्तर्गत बेथानचोकमा प्रचलित धार्मिक, सांस्कृतिक, ऐतिहासिक पर्व, मेलाको संरक्षण र प्रवर्द्धन गर्न आवश्यक बजेट विनियोजन गरिने, ‘समुन्नत र समृद्ध बेथानचोकको आधार, महिला क्षमताको विकास’ भन्ने सोचलाई मूर्तरुप दिन गाउँपालिका क्षेत्रभित्र महिला सशक्तिकरण साथै उद्यमशिलता विकास गर्न ‘उपाध्यक्षसँग महिला पहिला कार्यक्रम’ संचालन गरिने, ‘आहातलाई राहत’ भन्ने मान्यतालाई आत्मसात् गर्दै विपद्मा परेका जटिल प्रकृतिका रोग लागेकालाई सामाजिक संरक्षणको जीवनचक्र सिद्धान्त अन्तर्गत ‘वडाध्यक्ष मार्फत विपद सहयोग’ कार्यक्रम अगाडि बढाईने लगायतका कार्यक्रम उल्लेख गरिएको छ ।















प्रतिक्रिया