३० आश्विन २०८३, शुक्रबार

म्याग्दीमा पहिरो प्रभाव: बैंसरीमा चार करोडभन्दा बढी क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kaliम्याग्दी, १४ जेठ । राम्चे–९ काफलडाँडा नजिकैको पहाडबाट खसेको भीषण पहिराले राम्चेको फेदी र भगवती–२ बैसरी बस्ती पुरिँदा रु चार करोड बढीको भौतिक क्षति भएको छ ।

बैंसरीमा पहिराबाट विस्थापित बनेकाको बसाइँ व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालयले लगत सङ्कलन गर्नेक्रममा रु चार करोड २२ लाख ८० हजारको क्षति भएको पाइएको हो । प्रारम्भिक लगत सङ्कलनका क्रममा घर, नगद, जिन्सी, पशु चौपायालगायत गरी उक्त क्षति भएको विवरण सङ्कलन भएको प्रहरी नायब निरीक्षक हिराबहादुर थापाले जानकारी दिनुभयो ।

त्यस्तै त्यहाँ रहेका दुई झोलुङ्गे पुलसमेत पहिराले पूर्ण रुपमा क्षतिग्रस्त तथा १४३ जना विस्थापित भएको प्रहरी कार्यालयले जनाएको छ । विस्थापित परिवारका सदस्यको सङ्ख्या, अन्यत्र घरजग्गा भए/नभएको लगायत प्रारम्भिक विवरण सङ्कलन भएकाले पीडितलाई पुनःस्थापना गर्नका लागि समेत सहयोग पुर्‍याइने प्रहरी नायब उपरीक्षक हिरा गिरीले बताउनुभयो ।

राम्चे–९ काफलडाँडा नजिकैको पहाडबाट खसेको पहिराले राम्चेको फेदी र भगवती–२ बैसरी बस्ती पूरै पुरिँदा त्यहाँका २७ घरपरिवार अहिले घरबारविहीन भएका छन् । चट्टानी पहाड खसेर गएको सुक्खा पहिराले भीषण रुप लिँदा बस्तीमाथि पहिरो थोपरिएको छ । त्यहाँ पुनः बस्ती बसाउन सक्ने सम्भावना नभएपछि उनीहरुलाई अहिले बंैसरी नजिकै पिप्ले गाविसमा पर्ने सार्वजनिक जग्गामा अस्थायी रुपमा पुनर्वास गराइएको छ । रासस