
काठमाडौं, १० असार । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कहिलेकाहीँ मेहनतका बाबजुद पनि परिणाम प्राप्त नहुन नसक्ने र यसबाट निराश हुनु हुँदैन भन्दै नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सान्त्वना दिएका छन् ।
हिजो शनिबार आईसीसी विश्वकप क्रिकेटको छनोटको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित हुँदै समूह चरणबाट बाहिरिएपछि अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
आइतबार बिहान फेसबुकमा लेख्दै उनले हिजोको नेपाल र नेदरल्यान्ड्सबीचको खेल हेरेको उल्लेख गरेका छन् ।
‘हिजो मैले नेपाली टिम र नेदरल्याण्डबीचको खेल लाईभ हेरें। मोबाइलमा इन्टरनेट स्लो भएर केही डिस्टर्ब भयो, तैपनि हेरें । आइसीसी एक दिवसीय क्रिकेट विश्वकपमा सहभागी हुन त हामीले पाएनौं । मेहनत जननी हो भने परिणाम शीशु ।’ अध्यक्ष ओलीले भनेका छन्, ‘कहिलेकाहीं मेहनतका बाबजुद पनि परिणाम प्राप्त नहुन सक्छ । यसबाट निराश हुनु हुँदैन । परिणाम हामीले सोचेजस्तो नभए पनि नेपाली टिमको मेहनत कमजोर थिएन । मेहनतका लागि धन्यवाद नेपाली क्रिकेट टिम ! नेपाल फर्केपछि सँगसँगै खाना खानेगरि भेटौँला । एउटा असफलता यात्राको अन्त्य होइन, हाम्रो यात्रा जारी छ ।’











प्रतिक्रिया